Published in Shilapatra –
खगोलीय मानकमा पृथ्वी सानो छ, तर यसलाई विस्तारमा हेर्न बुझ्न खोजियो भने विशाल छ । मान्छेको छोटो जीवनमा सबै ठाउँ पुगेर, हेरेर, बुझेर सकिन्न, तर नैसर्गिक रूपले मान्छे धेरैभन्दा धेरै ठाउँमा पुग्न चाहन्छ । म सधैँ उत्सुक रहन्छु कि नयाँ ठाउँमा पुगौँ, त्यहाँको संस्कार संस्कृति बुझौँ । त्यै लालसाले काम बाट फुर्सत भएको बेला ठाउँठाउँ पुऱ्याउँछ, केही हदसम्म काममा खटिरहने ऊर्जा पनि दिन्छ ।
सन् २०२४ को अन्त्यतिरको फुर्सदको उपयोग हामीले प्यासिफिक क्षेत्रको यात्रा गर्नै विचार गऱ्यौँँ । न्युजिल्यान्ड, अस्ट्रेलिया र फिजी पुग्ने हाम्रो पूरानै रहर हो । यसपालि साइत जुऱ्यो ।
यो ट्रिपमा सबैभन्दा पहिला हामी न्युजिल्यान्डको अकल्यान्ड जाने निधो गऱ्यौँँ । डालासबाट अकल्यान्ड ननस्टप उडानको सुविधा पनि छ । न्युजिल्यान्ड जान ट्राभल पर्मिट चाहिँदो रहेछ, तर एउटा यापमार्फत फोनबाटै ५ मिनेटमै सबै प्रक्रिया पूरा गर्न सकिँदो रहेछ । भिसा एप्रुभल पनि तुरून्तै आउँदो रहेछ ।
सबै तैयारी गरिसकेर ८ नोभेम्बरको साँझ हामी विमानस्थलतिर प्रस्थान गऱ्यौँ । एयरलाइन्स चेक इन काउन्टर पुगेर सबै कागज (टिकट, पासपोर्ट इत्यादि) दिइसकेपछि एयरलाइन्सका एजेन्टले निकै बेर कम्प्युटरमा संघर्ष गरिरहेको देखेर मैले के भयो भनेर सोधेँ । उनले रोहिणीको ट्राभल पर्मिट देखिँदैन भनिन् । हामीले एप्रुभलको इमेल र यापको स्टाटस देखाएपछि उनले पत्ता लगाइन्– एप्रुभलमा पासपोर्ट नम्बर गलत रहेछ ।
हामीलाई के गरौँ, कसो गरौँ भयो । उनलाई अब के गर्ने त भनेर सोध्यौँ । उनले ट्राभल पर्मिट नभए जान मिल्दैन भनिन् । पासपोर्ट स्क्यान गर्दा यापले गलत नम्बर टिपेछ, आफूले पासपोर्ट नम्बर टाइप गर्न पाउने विकल्प नै थिएन । एप्रुभलमै रोहिणीको गलत पासपोर्ट नम्बर रहेछ । पहिला आवेदन दिँदा १५ मिनेटमै एप्रुभल आएको थियो । मैले अब गर्दा हुन्छ भनेर सोधेँ । उनले हुन्छ भनिन् । हामीले त्यहीँ बसेर तुरुन्तै फेरि एप्लाई गऱ्यौँ । आधा घन्टामा पनि एप्रुभल आएन । फ्लाइटको टाइम लगभग २ घन्टा मात्र बाँकी हुँदा हामीले फर्किनुपर्छ होला, एकपटक सोधौ न त भनेर फेरि काउन्टरमा गयौँ । हामीलाई पहिला सहयोग गरेकी एजेन्टको छुट्टी भइसकेछ । यसपालिकी एजेन्ट एकदमै साहसी रहिछन् । सबै कुरा बुझेर उनले तिमीहरूले फेरि एप्लाई गर्नै नपर्ने, यै एप्रुभलमा जान मिल्छ, त्यहाँ अलि बढी प्रश्न सोध्न सक्छन्, रिटर्न टिकट छ नि भनेर सोधिन् । छ भनेपछि हामीलाई चेक इन गरिदिइन् ।
डालासबाट अकल्यान्डको फ्लाइट १४ घन्टाको छ । नेपाल आउजाउ गर्ने बानी परेकोलाई त्यति लामो लाग्दैन ।
अकल्यान्डको विमानस्थलको आगमनमा भने सबै सेल्फ सर्भ कियोस्कहरू रहेछन् । कसैले केही सोधेन । हामी सरासर डोमेस्टिक फ्लाइटबाट निस्केझैँ एयपोर्टबाट बाहिरियौँ । मलाई चाहिँ कसैले केही प्रश्न गर्दिए पनि हुने, दोस्रोचोटि एप्लाई गर्दाको भिसा फी फिर्ता हुन्थ्यो कि झैँ लागेको थियो । लामो फ्लाइटबाट झरेको थकाइले गर्दा मलाई आफैँ खोजेर सोध्न र रिफन्ड माग्न जाने जाँगर आएन । रोहिणी भने कुनै झन्झट नभएकोमा खुसी थिइन् । मलाई झन्झट होलाझैँ लागेको थिएन । त्यसको एप्रुभल हामी न्युजिल्यान्डबाट फर्किने दिन आयो ।
सुरुका केही दिन हामी अकल्यान्डमै रोकियौँ, घुमघाम गऱ्यौँ । यो न्युजिल्यान्डको सबैभन्दा धेरै मान्छे बस्ने शहर रहेछ । तर, हामीलाई यो शहरको व्यक्तित्व अमेरिका वा युरोपका साना शहरहरूसँग मिलेझैँ लाग्यो । एउटा मुख्य सडक र त्यसका वरपर अगाडि पछाडि ससाना गल्ली सडकहरू जहाँ ओझेल परेर मान्छेहरू सुस्ताउँछन, दैनिकी गर्छन् । बिहान, दिउँसो, बेलुका यो शहरको चप्पाचप्पा घुम्यौँ हामी । मान्छेहरू अरुको सम्मान गर्दै सडक संस्कृतिमा भाग लिइरहेका, अन्तजस्तो अनुहारमा तनाव र निधारमा गाँठा नभएका । र मुख्य कुरो, जुन कुनै समयमा सडकमा निस्के पनि लगभग ८० प्रतिशत मान्छेहरू युवा उमेरका हुँदा रहेछन् यो शहरमा ।
हामी अकल्यान्डको बाहिरी सेरोफेरो पनि घुम्न निस्कियौँ । लगभग २ घन्टाको दूरीमा रोटोरुवा भन्ने ठाउँ रहेछ । नजिक पुग्दा लाग्यो– सारा पृथ्वी नै उम्लिइरहेछ, जतासुकै चारैतिर जमिनबाट बाफैबाफ निस्किरहेछ । डाँडा, खोल्सा पहरो साराबाट बाफ निस्किँदो रहेछ यो ठाउँमा । एउटा गहिरो ठाउँमा ठूलो पोखरीजस्तो तर हिलोको पोखरी, भकभकी उम्लिरहेको, ढिँडो पकाउँदा फत्केको जस्तो फतफत आवाज आउने, हिलोका ससाना डल्ला उछिट्टिने, अचम्म ! कसैले ठूलो डेक्ची बसालेर हिलो हालेर तलबाट आगो बालेजस्तो ।
यही उम्लिने र बाफिने एरियाको मध्यभागमा एउटा ठूलो तातोपानीको गाइजर रहेछ । हरेक २०-३० मिनेटमा सयौँ फिट अग्लो तातोपानीको फोहोरा निस्केर आकाशिँदो रहेछ । अमेरिकाको यलोस्टोन पार्कमा पनि यस्दै गाइजरहरू छन् । हाम्रो त्यहा जाने योजना छ, गएका छैनौँ ।
प्रकृतिले पनि कस्ताकस्ता रूप देखाउँछ । यहाँ वरपर हिँड्दा हामीलाई साइन्स फिक्सन मुभीहरूमा भर्खर बनेको वा बन्ने क्रममा रहेको पृथ्वीजस्तै ग्रहमा हिँडिरहेझैँ लाग्यो । वातावरणमा पूरै कडा सल्फरको गन्ध आउँदो रहेछ । वरपर तातोपानीमा घुम्न आउने मान्छेहरूलाई डुब्ने नुहाउने ठाउँहरू पनि बनाइएका रहेछन् । यही ठाउँमा किवी चराको संरक्षण स्थान पनि रहेछ । न्युजिल्यान्डको राष्ट्रिय चरो किवी पनि पहिलोपटक यहीँ आएपछि देख्यौँ । किवी लजालु स्वभावको हुँदो रहेछ । राति मात्रै निस्किने । किवी संरक्षण गर्ने स्थान पनि रातजस्तै अँध्यारो बनाएर किवीलाई राखिएको रहेछ ।
यही ठाउँमा माओरीहरूले सञ्चालन गरेको माओरी परम्पराअनुसार तयार गरेको खाना पाइने ठाउँ रहेछ । माथि आगो बालेर माटोमुनि ढुंगा र केराको पातमा पकाइएको खानेकुरा अति मीठो ।
अकल्यान्ड र पूरै न्युजिल्यान्डमा भेडा–बाख्राको कबाब बनाएर बेच्ने ससाना रेस्टुराँहरू हुँदा रहेछन् । हामीले यो फुड कल्चर पनि खुब रुचायौँ । प्राय:जसो अमेरिकाभन्दा बाहिरको खाना तुलनात्मक रूपमा स्वादिलो पाउँछौँ हामी । अमेरिकामा धेरैजसो खाना जेनेटिकल्ली मोडिफाइड टेक्नोलोजीमा आधारित उत्पादन प्रणालीले बेस्वादिलो बनाएको छ ।
अकल्यान्डवरपर ५३ वटा निष्क्रिय ज्वालामुखी रहेछन् । पहाडी बाटो र कृषि फार्म, जंगलहरू र त्यसलाई चिर्दै बनेका नागबेली सडकहरूको स्वर्गीय दृश्य रहेछ । कुनै सिनेमाको पर्दाका जस्तै सिनहरू मनै लोभ्याउने ।
अकल्यान्ड फर्किने बाटोमै लाइकाचो रिभर रहेछ- सन् १९४५ मा जापनिजले हवाई आक्रमण गरेपछि यहाँ पनि आक्रमण हुन्छ भनेर तर्सेर स्थानीयहरूले खोलामा बाँध बाँधेका, पुल बनाएका रहेछन् । ऐतिहासिक र सुन्दर ठाउँ, अहिले पनि त्यतिबेला बनाइएको झोलुंगे पुल आवातजावतमा प्रयोग हुँदो रहेछ । माओरी भाषामा आरापुनी (दुई छेउ जोड्ने) भन्दा रहेछन् । यो झोलुंगे पुलले मलाई लगभग बागलुङको सेती, गण्डकी माथिको झोलुंगे पुलको झल्को दियो ।
अकल्यान्डबाट ३ घन्टाको ड्राइभमा वाइटोमो गुफा पुगिने रहेछ । ग्लोइङ केभ पनि भन्दा रहेछन् । वाइटोमो नदीमा डुंगा चढेर बिस्तारै यात्रा गरिने औँसीको रातभन्दा पनि गहिरो अँध्यारोमा यो गुफाको छानो मन्द नीलो र हरियो आगोका झिल्काहरू उडिरहेझैँ देखिन्छ । गुफाको मध्यभागमा हाम्रा गाइडले डुंगा रोकिदिए । मैले ढल्केर माथि हेरेँ । त्यहाँ करोडौँ नीला, हरिया ताराहरू टिलपिलाएझैँ, हरियो आगोका झिल्काहरू नाचिरहेझैँ, छतबाट पानीका थोपाहरू तपतप तल नदीमा खसिरहेको आवाजको गजबको सरगम । कैयौँ डुंगाहरू र सयौँ मान्छेहरू भए पनि अँध्यारोमा आफू मात्र भएझैँ लाग्ने । मैले सुस्तरी रोहिणीको कानमा भनेँ, ‘स्वर्ग भनेको यही हो क्या हो ? यस्तो दिव्य र भव्य दृश्य यो पृथ्वीमा अन्यत्र कतै हुन सक्दैन ।
न्युजिल्यान्डको अकल्यान्डमा धेरै नेपालीहरू हुनुहुँदो रहेछ । केही नेपालीहरूलाई हामीले भेट्यौँ । सबै जना खुसी नै देखिनुभयो । अन्यत्रजस्तो असन्तुस्टि र तनाव रहेनछ यहाँका नेपालीहरूमा ।
हाम्रो एउटा टुरका गाइड युवा बेलाका प्रोफेसनल क्रिकेरटर र शिक्षक पेसा अँगालेका स्कटिस हेरिटेजका इतिहासका शिक्षक थिए । हामी अमेरिकाको टेक्सास बस्ने नेपाली हेरिटेजका पर्यटक हौँ भन्ने थाहा पाएपछि उनले पनि टेक्सास र नेपालका बारेमा रुचि धेरै लिएर कुरा गर्दै टेक्सासको बारबीक्यु खाने र नेपालका हिमाल हेर्ने रहर भएको बताए । मैले सोचें, हो त घुम्न जाँदा हामीले अरुको संस्कृति जान्ने सिक्ने मात्र नभएर हामीले बोकेर हिँडेको आफ्नो संस्कृतिको परिचय पनि त दिने अवसर हो ।
न्युजिल्यान्डका आदिवासीहरूलाई माओरी भनिँदो रहेछ । यहाँको कानुनले युनिभर्सिटी र स्कुलहरूमा माओरीलाई कोटा प्रदान गर्नेलगायतका प्राथमिकता दिँदो रहेछ, जसबाट पाकिहा (गोरो सनमुदाय) असन्तुस्ट रहेछ ।
बहुमत सरकारले माओरी र ब्रिटिस क्राउनको बीच भएको एक सय चालीस वर्ष पुरानो सन्धिको पुनर्व्याख्या गर्न खोजेको रहेछ, जुन माओरीहरूले रूचाएका रहेनछन् ।
यसै कारण आदिवासी जनसंख्या माओरीसँग बहुमत सरकारको दूरी बढिरहेको रहेछ । अन्यत्रभन्दा न्युजिल्यान्डमा आदिवासीहरूको अवस्था राम्रो भए पनि हामी न्युजिल्यान्डको राजधानी वेलिङ्गटनमा भएको बेलामा माओरीहरूले सन्धि पुनर्व्याख्याको विरोधमा संसदमा हाका प्रोटेस्ट गरे ।
वैदिककालका सनातनीहरू, प्राग:ऐतिहासिक इजिप्सियनहरू, तेस्रो शताब्दीभन्दा अघिका रोमनहरू र मेसोपोटामियनहरूजस्तै माओरीहरू पनि प्रकृतिका पूजारी रहेछन् । माउरीका भगवान्- सूर्य, चन्द्र रहेछन्, इनिमवा र टुटानकावा भन्दा रहेछन् । त्यस्तै पानी, पृथ्वीको पनि पूजा गर्दा रहेछन् । न्युजिल्यान्डमा माओरी संस्कृति र भाषा जगेर्ना गर्ने हरप्रयत्न गरेको रहेछ यहाँको सरकारले । अन्यत्र आदिवासी भाषा र संस्कृतिले यस्तो सुविधा र सदाशयता पाएको देखिन्न ।
केही दिन अकल्यान्डमा रमाएर हामी क्विन्सटाउन यात्रा गर्ने विचार गऱ्यौँ । अकल्यान्ड छोड्दै गर्दा भने हामीलाई फरक अनुभव भयो । हामी घुम्न निस्कँदा अमेरिकाबाट सबै देशमा आउनेजाने टिकट पहिल्यै किन्छौँ तर एउटा देशभित्रका टिकटहरू त्यहीँ गएर किन्छौँ । यसबाट हामीलाई मन लागेको शहरमा बढी र नलागेको शहरमा कम बस्ने सुविधा हुन्छ ।
क्विन्सटाउन जान हामीले त्यहाँको एयरलाइन्स जेटस्टारको टिकट लियौँ । लगेजको कुनै कुरै भएन, एक/एकवटा लगेज त लग्न पाइहालिन्छ होला भन्ने मान्यतामा हिँडियो । तर, एयरपोर्टमा चेक इन गर्दा भने ठूलै चटक, नाटक भयो । लगेजको एक रुन्को पनि फ्री हुँदो रहेनछ । चेक इन गर्दै गर्दा हामीलाई सायद अमेरिकाको लो कस्ट एयरलाइन्सहरू जस्तो रहेछ भन्ने लाग्यो ।
एयरलाइन्सको पोलिसीअनुसार हामीले दुईवटा लगेजको ८२५ न्युजिल्यान्ड डलर (लगभग ४७० अमेरिकी डलर) तिऱ्यौँ । छोटो फ्लाइट भएकाले टिकटको ३२० न्युजिल्यान्ड डलर तिरेका थियौँ । उनीहरूले हाम्रा दुवै लगेज ओभर वेट भयो भने । अनि दुवै जनाको टिकटको ट्रान्जेक्सन एकै भएकाले दुवै लगेज एउटै प्यासेन्जरको गनिन्छ भने । उनीहरूले गणितको यस्तो व्याख्या गरे कि मेरो गणितीय मगजले ‘वाह भाइ वाह, यस्तो पनि हुँदो रहेछ’ भन्यो । यात्रा हो, सधैँ एकैखाले अनुभव हुँदैन । त्यत्ति मन परेको देश न्युजिल्यान्डको यो एउटा फरक अनुभव पनि पोको पारेर हामी क्विन्सटाउनतिर लाग्यौँ ।
न्युजिल्यान्ड मुख्यत: लगभग उत्तर दक्षिण पसारिएका दुईवटा टापु मिलेर बनेको छ । अकल्यान्ड उत्तरी टापुको सबैभन्दा उत्तरमा पर्छ भने न्युजिल्यान्डको राजधानी वेलिङ्टन त्यही टापुको सबैभन्दा दक्षिण र क्विन्सटाउन दक्षिणी टापुको लगभग दक्षिणी भागमा पर्छ । हामी उत्तरी गोलार्धका बासिन्दा उत्तरतिर जाँदा चिसो बढ्ने बानी परेका, त्यहाँ भने दक्षिणतिर जाँदा चिसो बढछ । क्विन्सटाउन अकल्यान्डभन्दा चिसो छ, तर दिव्य र स्वर्गीय लाग्छ । हामी यहाँबाट ड्राइभ गरेर ग्लेनोर्की माउन्टेन्स गयौँ ।
ओहो ! बाटोको सुन्दरता । सुन्दर ताल, माथि र वरपर हिमाच्छादित पर्वतहरू, सानो शहर । हामी यहाँ बिहानै पुगेका थियौँ । समरको सुरुवात भए पनि चिसो मौसममा हिमाच्छादित पर्वतकै मुन्तिर बसेर ब्रेकफास्ट र कफी खायौँ । दिव्य ! अर्को दिन गन्डोला चढेर शहरसँगैको अग्लो पहाडमा गएर शहर र वरपरको समुद्रजस्तै ताल हेऱ्यौँ । हिउँ पग्लेर बनेको स्फटिक नीलो पानी ।
क्विन्सटाउनबाट ३ घन्टाको ड्राइभमा रहेको रिमार्केबल्स माउन्टेन पनि गयौँ । हिमनदी र खोला, लगभग अपर मुस्ताङको झल्को दिने रहेछ । हिउँदमा यो क्षेत्रको स्की क्यापिटल पनि रहेछ रिमार्केबल्स माउन्टेन । पहाडी घुमाउरो बाटो नागबेलीझैँ बटारिँदै स्की गर्ने ठाउँसम्म पुग्दो रहेछ । अन्तिमको ६ किलोमिटरजति बाटो ग्राभेल रहेछ । हिउँमा ड्राइभ गर्दा गाडी नचिप्लियोस् भनेर ग्राभेल मात्र गरिएको हुँदो रहेछ । भर्खर हिउँ पग्लेर छङछङ गर्दै ससाना कुलेसा हुँदै खहरे बनेको पानी, मैले कति ठाउँ रोकिएर अञ्जुलीले पिएँ पनि । अति मीठो न्युजिल्यान्डको पानी । हामी न्युजिल्यान्ड जानुअघि त्यहाँ पुग्नुभएकी अभिलाशाले पनि हामीलाई यात्राका टिप्स दिँदै भन्नुभएको थियो, ‘त्यहाँको पानी अति मीठो छ । हामीलाई त्यताको खाना पनि अति मीठो लाग्यो, बच्चा बेला गाउँमा खाने अन्न, तरकारी र मासुको स्वादजस्तै ।’
न्युजिल्यान्डरहरू माइल्ड म्यानरका रिल्याक्स्ड देखिने, एयरपोर्ट वा अन्य कुनै लाइनमा कसैले कसैलाई ओभरटेक गर्न नखोज्ने, हतार नगर्ने, अरुको सम्मान गर्ने खालका हुँदा रहेछन् । भित्र त पक्कै पनि केही होला, बाहिर नस्लभेद वा अरु कुनै त्यस्तो तनाव देखिएन । नेपालभन्दा झण्डै दोबर ठूलो देशको मात्र ५ मिलियन जनसंख्या रहेछ । यहाँबाट हामी हाम्रो न्युजिल्यान्ड घुमाइको अन्तिम शहर वेलिङ्टन हानियौँ ।
वेलिङ्टन सरकारी कार्यालयहरू धेरै भएको राजधानी शहर । वरिपरि पहाडहरू र समुद्र भएको, १ लाख हाराहारी जनसंख्या भएको, वरपर प्राकृतिक सुन्दरताले भरिपूर्ण सबर्बहरू, चिटिक्क परेका घरहरू । हाम्रा भतिज गौरव र उनकी श्रीमती विनिता पनि यही शहरमा बस्छन् । उनीहरूको भर्खर बिहे भएको हो । विनिताका दिदीभिनाजु र सानी प्यारी छोरी अमोरा पनि यही शहरमा हुनुहुन्छ । हामी उहाँहरूलाई भेट्न उहाँहरूको घर गयौँ । वेलिङ्टनबाट २० मिनेटजतिको दूरीमा रहेको सबर्बमा रहेछ । यति टाढा आएर पनि आफन्त भेटिँदा अति आनन्द लाग्दो रहेछ । हामीले यो शहरका वरपरका फार्महरू, वाइनरीहरू, समुद्र र पहाडहरू उहाँहरूसँगै घुम्यौँ ।
यहाँको सबैभन्दा ठूलो उद्योग डेरी इन्डस्ट्री रहेछ । प्राकृतिक रूपले अकुत सुन्दरता भएका हरिया चौरहरूमा जतासुकै गाई, भेडा, बाख्रा, मृग देखिन्छन् । यहाँ मृगपालन पनि व्यापक मात्रामा हुँदो रहेछ । ठूलो मात्रामा दूध र मासु चाइना पठाइँदो रहेछ । अमेरिकामा पनि खसीको मासु किन्दा न्युजिल्यान्ड गोट भनेर बेचिन्छ । न्युजिल्यान्डका अन्य उद्योगमा फरेस्ट्री, धातु, फार्मिङ आदि रहेछन् । न्युजिल्यान्डबारे एउटा भनाइ छ– यो मान्छेभन्दा भेडा बाख्रा र गाईहरूको जनसंख्या बढी भएको देश हो । मैले आफ्नो प्रोफेसनल लाइफमा लगभग नौ वर्ष डेरी इन्डस्ट्रीको योजना र व्यवस्थापनमा बिताएको छु । त्यसैले पनि न्युजिल्यान्डको यो पक्ष रुचिपूर्वक अवलोकन गरेँ ।
हामी पुगेका न्युजिल्यान्डका सबै शहरमा मदिरा पसलहरू ठाउँठाउँमा देखिए । जाडो ठाउँ, यहाँका मान्छेहरू पिउनका सोखिन रहेछन, तर पिएर गाडी चलाउन नपाइने रहेछ । कानुन कडा रहेछ, जेरो टलरेन्स, विशेष गरेर २५ वर्षमुनिकाहरूलाई कानुन झनै कडा रहेछ ।
सडकमा कारहरू जापानी र जर्मन धेरै देखिँदा रहेछन् । अमेरिकी कार थोरै, चाइनिज ईभी र केही टेस्ला पनि देखिए सडकमा ।
वेलिङ्टनबाट हामीले न्युजिल्यान्डको यात्रा टुंग्याएर फिजीको नादी आइल्यान्डका लागि उड्यौँ । फिजी जम्मा जम्मी ३०० वटा आइल्यान्डको समूह रहेछ, जसमध्ये २२० मा बसोबास रहेछ । १ मिलियनकाे हाराहारी जनसंख्या रहेछ । फिजी ब्रिटिस साम्राज्यबाट सन् १९७० मा मुक्त भएको रहेछ । कुल जनसंख्याको ३७ प्रतिशत भारतीय मूलको जनसंख्या रहेछ ।
हामी यहाँ सबमर्सिबलमा कोरलरिफ हेर्न गयौँ । सबमर्सिबल पानीमा डुबेर चल्ने सानो पानीजहाज हो, चारैतिर सिसाका झ्यालहरूबाट समुद्रभित्र र समुद्रको पिँधमा रंगीविरंगी कोरल रिफ तिनमा रमाइरहेका रंगीबिरंगी माछा र अन्य समुद्री जीवहरू दिव्य देखिए । हामीले यहाँ स्नुर्कलिङ पनि गऱ्यौँ । पौडिन त्यति नआए पनि लाइफ ज्याकेटको सहायताले तैरिएर स्नुर्कलिङ गऱ्यौँ । स्नुर्कलिङ हामीले हवाईमा पनि गरेका थियौँ तर त्यहाँ धेरै गहिरो पानी थिएन । यहाँ त खुला समुद्रमा गरिँदो रहेछ, रोमाञ्चक लाग्यो । फिजीमा हामी तितो पानीका तलाउहरूमा डुब्यौँ । तातो हिलोको तलाउ (मडपुलभन्दा रहेछन्)मा पनि डुब्यौँ । तातोपानी र हिलोले शरीरका विभिन्न विकारहरू र रोगहरू निको हुन्छ भन्ने विश्वास रहेछ ।
हामीले फिजियन माओरी सांस्कृतिक कार्यक्रमहरू हेऱ्यौँ । किनकिन मलाई आदिवासीहरू चाहे अमेरिका, क्यानाडा, साउथ अमेरिका वा न्युजिल्यान्डका किन नहोऊन्, सांस्कृतिक कायर्यक्रम हेर्दा हाम्रो गुरुङ संस्कृतिको नजिक भएझैँ लाग्छ । उनीहरूले बजाउने ड्रम, चराको प्वाँखको प्रयोगदेखि प्रकृतिलाई विम्बको रूपमा प्रयोग गर्ने संस्कार उस्तैउस्तै लाग्छ ।
यहाँको समुद्रको पानी स्फचिकझैँ सफा र न्यानो लाग्यो । काला र सेता बालुवा भएको समुद्री तटहरू प्रशस्त रहेछन् यहाँ । पर्यटन प्रमुख व्यवसाय भएर होला यहाँका मान्छेहरू सदा स्वागत गर्न तत्पर देखिए, स्वागतमा कृत्रिमता देखिँदैन । यातायातबाहेकका पर्यटकीय सेवा क्षेत्रमा धेरैजसो माओरीहरू भेट्यौँ, सवारीचालकहरू भने धेरैजसो भारतीय मूलका भेटिए ।
भारतीय मूलका फिजियनहरूको कथा मार्मिक रहेछ । उनीहरूले जमिनको स्वामित्व पाउँदा रहेनछन् । लगभग एक शताब्दीभन्दा बढी समयको बसोबासपछि पनि उनीहरूले जमिन भाडामा लिएर कृषि गर्ने, घर बनाउने आदि गर्नुपर्दो रहेछ । जमिनको भाडा दिइने समय घटाउँदै लैजाँदा उनीहरूलाई असुविधा र असुरक्षा महसुस भएको रहेछ । त्यससँगै उनीहरूको जनसंख्या पनि घटदै गएको रहेछ ।
उखुको व्यापार चरममा हुँदा कुल जनसंख्याको ५७ प्रतिशत रहेको भारतीय मूलका मान्छेहरूको जनसंख्या घटेर अहिले ३७ प्रतिशतमा झरेको रहेछ । सामान्य कुराकानी हुँदा उनीहरू एफबीएफ (फिजी बोर्न फिजियन) र एफबीआई (फिजी बोर्न इन्डियन) भनेर छुट्याएर कुरा गर्दा रहेछन् । नागरिक अधिकारसम्बन्धी कन्सेप्ट भने गजब लाग्यो मलाई । भारतीय मूलका मान्छेहरूलाई पूर्ण राजनीतिक अधिकार रहेछ । भारतीय मूलका मान्छेहरू प्रधानमन्त्रीसमेत भएका रहेछन् । जमिन भने राजनीतिक संयन्त्रले नभई ल्यान्ड कमिसनले व्यवस्थापन गर्दो रहेछ, जसका कमिसनरहरू आदिवासी मात्र हुँदा रहेछन् र यो कमिसन संविधानअन्तर्गत पनि रहेनछ । फेरि त्यहाँ पुग्ने उत्कण्ठा नभए पनि हामी लगभग एक हप्ता फिजीमा बस्यौँ र खुबै रमायौँ ।