कृष्ण कुसुमकृत पार्श्वधुनमा तेह्रवटा कथा समेटिएका छन्। तेह्रमध्ये आठवटा विदेशी परिवेशका कथा छन्। पाठकले देखी-भोगी आएका परिस्थितिहरूलाई कथाको विषयवस्तु बनाइएको छ। प्रस्तुतिमा सरलता र नयाँपन छ। साहित्य समाजको ऐना हो भन्ने मान्ने हो भने आजको समाजलाई ऐना देखाउने काम यो कथासंग्रहले गरेको छ। नयाँ पुस्ताका कथाकारबाट अपेक्षा गरिने पनि यस्तै नै हो।
अमूर्तता कथेर बुद्धिविलास गरेका कथा पढ्न आनन्द भए पनि सन्तुष्टि भने यस्तै यथार्थपरक कथा पढ्नुमा हुन्छ। कथिएका कथाभन्दा भोगिएका कथा पढ्न रुचिकर हुन्छ। पार्श्वधुन भोगिएका कथाहरूको संग्रह हो।
यो संग्रहका कथा दैनिक जनजीवनमा घट्ने घटनाहरू र दैनिक जनजीवनमा भेटिने पात्रहरू समेटेर बुनिएकोले पढ्दै जाँदा पाठकहरू कथासँगै आफैं जोडिएको अनुभव गर्न सक्छन्।
यो संग्रहका कथालाई समग्रतामा हेर्दा चारवटा मुख्य धार देखिन्छन्। पहिलो र प्रमुख रूपमा पस्किइएको विदेशी परिवेशको विषयवस्तुमा कथिएका कथा, दोस्रो सामाजिक चेतना र छुवाछुत, तेस्रो मनोविज्ञान र चौंथो राजनीति।
पहिलो- विदेशी परिवेशका कथा, विषयवस्तु विहंगम छ। तेह्रमध्ये आठवटा कथा नेपालीहरूले विदेशिनु पर्ने परिस्थिति, विदेशिएपछि आइपर्ने समस्याहरूबारे गहिरो र धारिलो अवलोकन पस्केका छन् कथाकारले। नेपालबाट अमेरिका आउने साहित्यकारहरूले बेला-बेला अमेरिकाका सर्जकहरूलाई तपाईंहरू विदेशकै परिवेशमा लेख्नोस् न, कति नेपालबारे लेख्नुहुन्छ, नेपाली परिवेशमा लेख्न त हामीहरू छँदै छौं नि भन्ने गरेकाे सुनेको छु। कृष्ण कुसुमले त्यही प्रश्नको जवाफ दिएका हुन् कि झैं पनि लाग्यो घरिघरि।
कथाकार आफैं पनि विदेशमा रहेर अध्ययनदेखि जागिरसम्म गरिरहेकोले होला, कथाहरू एकदमै जीवन्त र चलायमान छन्। कुनै-कुनै कथा यथार्थको यति नजिक छन् कि पढेर मलाइ लाग्यो- जीवनले कथालाई पछ्याएको हो कि कथाले जीवन पछ्याएको हो? यो समूहका कथाहरू विभिन्न कारणले नेपाल छाडेको, छाड्न परेको परिस्थितिमा सिर्जिएका छ। ती सबै कथामा पात्रहरूले कुनै न कुनै सपना पोको पारेर नेपाल छाडेका छन्। ब्लाइन्ड डेट, लडाकु, एउटा अन्त्य, न्युयोर्कमा भेटिएको देश, पारिजातलगायतका सबै कथाहरू एक से एक पठनीय छन। हरेक कथाको आफ्नै व्यक्तित्व छ।
एउटा अन्त्य: यो संस्मरण शैलीमा बुनिएको हृदयस्पर्शी कथा हो। हामी सबै अमेरिका आउँदा कुनै न कुनै दु:ख परेको छ, कसै न कसैले सहयोग गरेको छ, चाहे क्लासमेट होस् वा प्रोफेसर अनि साथी अथवा छिमेकि जो होस्। यस्तै नि:स्वार्थ सहयोगी आत्माको मार्मिक कथा हो यो। कथाभित्र दुइटा समानान्तर कथा छन्। अमेरिका भासिनु परेको भुटानी शरणार्थी एउटा पात्र हो भने नेपालबाट विदेशिएको नेपाली पात्र अर्को। कथाकारले मर्मस्पर्शी तवरले दुवै पाटो विस्तारमा कथेका छन्।
न्युयोर्कमा भेटिएको देश: यो कथामा अमेरिका आएका छोराछोरीहरूको निम्तोमा आएका आमा-बुवाको कथा छ। बुढाबुढीको समस्या बेग्लै हुन्छ अनि छोराछोरीकाे भागदौड बेग्लै। अमेरिका आउनेबित्तिकै यो परिवेश युवाहरूलाई त मन पर्दैन, वृद्ध आमाबुवालाई त झनै मन पर्दैन। यो तीतो सत्य हो। नेपाली परिवेशमा रमाएर बसेका धेरैजसो आमाबुवा यहाँ निसासिन्छन, तर छोराछोरी बिर्सन्छन् वा थाहा पाउँदैनन् कि आमाबुवाहरूको मनभित्र के-के तर्कना आइरहेका छन्। छोरछोरी सोच्छन कि हामी रमाएको ठाउँमा आमा-बुवा रमाइहाल्छन। तर सत्य त्यस्तो हुँदैन। केही आमा-बुवा छोरछोरीभन्दा बढी रमाएर बसेको पनि देखेको छु, संख्यामा थोरै। आमा-बुवा ल्याएपछि सम्बन्धको परिभाषै फेरिए झैं हुन्छ। यो कथा त्यसैको लेखाजोखा हो।
ब्लाइन्ड डेट: अमेरिकी सपना पछ्याउँदै आएका प्रोफेसनलहरूलाई पर्ने झमेलाहरूमध्येको एक स्टाटसको झमेला बारे बुनिएको कथा। अमेरिकी कन्टेक्स्टलाई समस्यामा परेको नेपालीले स्टाटसको दवाबमा कसरी आफ्नो पक्षमा उपयोग गर्छ भन्ने ह्युमरस र यथार्थपरक कथा। पढ्दा अतिरञ्जित लाग्न सक्छ तर अमेरिकी नेपाली समुदायमा ठ्याक्कै यै नभएपनि लगभग यस्ता धेरै कथा घटित भैरहेका छन्।
दुत्कार: नेपालको सामाजिक भेदभाव, सामान्य नेपालीको अमेरिका प्रेम, केही नेपालीमा अमेरिका आएपछि आउने महामानवको भाव, अमेरिकामा पुराना सम्बन्धलाई गरिने दुत्कार आदि यो कथाले समेटेको छ। यो कथा पढिरहँदा मेरा वरिपरिका नेपाली समुदायका दुई-चारवटा दुर्भाग्यपूर्ण घटना सम्झेर मन साह्रै अमिलो भयो। फेरि पनि कथाकारको अवलोकनको धारिलो चेतप्रति नतमस्तक भएँ।
दाेस्राे विषयवस्तु: सामाजिक चेतना र छुवाछुत
कथाकारको मन यो विषयले धेरै नै पोल्ने रहेछ, प्रखर रूपमा यो विषय उठेको छ कथाहरूमा। भीमराव अम्बेडेकरले चालीसको दशकमा अमेरिका र युरोपबाट दुइटा पिएचडी सकेर भारत फर्केपछि पनि चर्को छुवाछुत खेप्न पऱेको थियो। उनले भारतमा सरकारी जागिर खाएर पोस्टिङ भएको ठाउमा जाँदा अछुत भएकोले कतै बस्ने डेरा नपाएपछि लेखेका छन्, ‘हिन्दुधर्मका अछुतहरू मुसलमान, इसाई र जैन धर्मका पनि अछुत हुँदा रहेछन्।’ भुटान र नेपालबाट अमेरिका आएर पनि छुवाछुत खेप्न परेका यथार्थपरक कथाहरू यो संग्रहमा पढ्दा झलझली अम्बेडेकरलाई सम्झिएँ। र लाग्यो कुनै न कुनै तवरले कथाकार समाजमा समता होस्, भेदभाव नहोस् भन्ने चाहन्छन्।
तेस्रो मनोविज्ञान:
कथाकारले मिहीन तरिकाले मनोवैज्ञानिक अवलोकन पस्केका छन्। अनुत्तरित र चार्ली यो विषयका कथाहरू हुन्। अनुत्तरितमा कथाकारको विषयवस्तु चयनको आँट पनि प्रशंसालायक छ। कथाकार विषयवस्तुको चयन गर्न डराउँदैनन् र चयन गरेको विषयवस्तुलाई निष्ठापूर्वक न्याय पनि गर्छन्। यो विषय नेपाली परिवेशमा निकै नै चुनौतीपूर्ण, संवेदनशील र छलफलको विषय हो। एकजना अविवाहित महिलाले समाज र परिवारको अपेक्षा र दबाबको विपरीत कृत्रिम गर्भाधानबाट बच्चा जन्माउने विकल्प छान्नु अनौठो नै मान्नु पर्छ। पाठकले कथा पढ्दा जुन विस्तृत मनोवैज्ञानिक र भौतिक अवस्थाहरूको अनुभव गर्छ, ऊ आफैं ती अवस्थाहरूबाट गुज्रिरहे झैं लाग्छ। त्यसअर्थमा पनि यो कथा अनौठो छ। कथाकारले एकजना महिला यो अवस्थाबाट गुज्रिँदा समाज, परिवारबाट के कस्ता व्यवहार पाउँछे, उसको मनस्थितिले के-कस्ता घुम्तीहरू पार गर्छन्, सबै कुराको एउटा साँगोपाँगो बेलिविस्तार बुनेका छन्।
चार्ली- थोरै प्रेम, थोरै उत्सुकता र मनोविज्ञान, मानसिक आघात र थोरै बुढ्यौलीको कथा। पाल्तु जनावरले मानसिक आघातको व्यवस्थापनमा कति महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने पाटो पनि यहाँ पस्किइएको छ। जनावरप्रेमीहरूले यो कथाको अर्थ अरूले भन्दा फरक पाउने छन्।
राजनीति : यो विषयको प्रमुख कथा क्लोन हो, नेपालको विगत बीस/पच्चीस वर्षको समाज र राजनीतिको जीवन्त चीरफार गरिएको यो कथा व्यङ्ग्यशैलीमा लेखिएको छ। प्रशस्त विम्बहरूको प्रयोग गरेर पस्किएको यो कथालाई मैले संग्रहको श्रीपेचको रूपमा लिएको छु। अन्य कथाहरूमा पनि जानिँदो नजानिँदो तवरले राजनीति समेटिएको छ। अब्बल दर्जाको व्यङ्ग्य जसमा सामाजिक कुरीति, कर्मचारीतन्त्र, राजनीति, वादहरू, धार्मिक दर्शन र ग्रन्थहरू समेत समेटिएका छन्। गहिरो र धारिलो अवलोकन र बुझ्ने चेत नभै यस्ता कथा कथ्न सकिन्न।
लडाकु अर्को कथा हो- यसमा राजनीतिको विसंगतिको पर्दाफास गरिएको छ। यो कथा पढदै गर्दा म आफ्नो आग्रहबाट मुक्त हुन सकिनँ। तीसको दशकमा म विद्यार्थी हुँदा बेचिएका सपनाहरू सम्झिएँ। कथाकारले उनको गहिरो अवलोकन शैलीकै निरन्तरता दिँदै माओवादी युद्धमा चमत्कारिक ढंगले बाँचेको एकजना लडाकु आठ वर्षको लडाइँ र शिविरको अनुभवबाट गुज्रिएर मनले न्याय नगर्दा-नगर्दै अमेरिका आउनु परेको विसंगतिपूर्ण अवस्था पस्केका छन्। कतै पढेको थिएँ- शान्ति सम्झौता भएपछि माओवादी लडाकु र माओवादी कार्यकर्ताहरूलाई व्यवस्थापन गर्नको निमित्त विदेशी श्रमको कन्सेप्ट ल्याइएको हो, ताकि उनीहरूको असन्तुष्टि र आक्रोशबाट तत्कालीन नेतृत्व सुरक्षित रहन सकाेस्। श्रमको निम्ति विदेशिने समस्या आज देशको निम्ति विकराल भएको छ। युद्धले सृजना गरेको विसंगति र अवसादलाई यथार्थपरक ढंगले कथामा प्रस्तुत गरिएको छ।
कथाहरूमा प्रशस्त विम्बहरूको प्रयोग गरिएकाे छ। क्लोन कथा विम्बहरूको प्रयोगशाला नै हो। कथाकार गजलको पृष्ठभूमिबाट आएको हुनाले यथेस्ट विम्बहरू प्रयोग भएको छ। कथासंग्रहको नाम विम्बात्मक रूपमा पार्श्वधुन राखिएको छ, अर्थात् यो कथासंग्रहका पात्र र परिस्थितिहरू सीमान्तकृत हुन्।
कथाकारले वा सर्जकले के लेख्नु पर्थ्यो भन्ने कोणबाट म कहिल्यै पढ्दिनँ, सर्जकलाई मूल्यांकन गर्ने काम पाठकको होइन। सर्जकीय स्वतन्त्रतामाथि धावा बोल्ने अधिकार कसैसँग हुन्न झैं लाग्छ मलाई। सर्जकले आफ्नो गच्छे र आफ्ना पाठकको गच्छेको वरिपरि रहेर सृजना गर्ने हो। उसकाे कथा र पात्र इत्यादिको विधाता सर्जक आफैं हो, त्यो विधातीय अधिकार कसरी प्रयोग भएको छ, पाठकले छनक त पाउँछ तर त्यसमाथि प्रश्न गर्नुको कुनै अर्थ रहन्न भन्ने मलाई लाग्छ। कथाकार कृष्ण कुसुम एक ऊर्जावान र उदाउँदा कथाकार हुन्। विषयवस्तुको चयन गर्न डराउँदैनन र चुनेका विषयवस्तुमाथि निष्ठापूर्वक न्याय गर्ने क्षमता राख्छन्।
कथाकारको यौटा शिल्प यो हो कि उनले हरेक कथा न्युट्रल भएर पस्किन्छन्, कुनै आग्रह, नारा वा सन्देशको भार पस्केका छैनन् तर पाठकलाई उद्वेलित भने पार्छन्। कथाकारमा प्रचुरमात्रामा उत्सुकता छ, लेख्ने उत्कण्ठा र ऊर्जा पनि छ। यो उनको पहिलो एकल कथासंग्रह हो। उनीबाट अझै उत्कृष्ट कथाहरूको अपेक्षा गर्न सकिन्छ।
Published in Deshsancar.com- Jan 20/2024