कबड्डी – ४ हेरियो। “दुई खुट्टा भएकीसँग त काजीको बिहे गर्नै भएन, भागी हाल्छे” कबड्डी ४ को यो डाइलगले कबड्डी एकदेखि तीनसम्मको कथालाई साराशंमा प्रस्तुत गर्छ।
काजी (दयाहांग राइ) को बिहे हुन लाग्यो कि बेहुली अर्कैसँग भागी जाने कमेडिक थिममा कबड्डी १ देखि ३ सम्म बनेको सिक्वल चौथोमा आइपुग्दा भने उल्टिन्छ। विरक्तिएको काजी शान्ति खोज्न गुम्बा तिर लाग्छ तर उनका आमाबाबु, साथीहरू र एकतर्फी प्रेमिका समेत उनको पछाडी लागेर अन्तमा काजीले प्रेमिका भगाएर बिहे गर्नु पर्ने कमेडिक परिस्थिति सृजना हुन्छ। कथा यत्ति हो, तर कथा यसरी बुनिएको छ की शुरूदेखि अन्तसम्म दर्शकलाई बाधिराख्न फिल्म सफल भएको छ।
सबै कलाकारहरूले आ-आफ्नो पात्रलाई न्याय गरेका छन्। कतै कतै बमकाजी (सौगात मल्ल) को ओभर एक्टिङ छ तर सुहाएको छ । उपेन्द्र सुब्बाको लेखन पोयटिक र एक्टिङ क्युट लाग्छ मलाइ, मुभी भरी उन्ले यत्रतत्र खोलाहरूको गीत गुञ्जायमान गरेका छन। विजय बराल, बुध्दि तामाङ गौमाया गुरूङ सबै आआफ्नो पात्रमा सुहाएका छन। दयाहांग र मिरूना परिपक्व र सशक्त छन, दुबैको वरिपरी कथा घुमाएर लेखक, निर्देशकले कथालाई न्याय गरेका छन।
परिवारसँग बसेर हेर्न सकिने, सबै उमेर समूहलाई सुहाउने, कुनै ठुलो ट्विस्ट र टर्न नभएको, मन छुने डाइलग र एक्टिङ भएको हल्का फुल्का सामाजिक कमेडी फिल्म, हेरीसक्दा मनमा कुनै लगेज वा भारीपन नहुने मुभी हेर्न लायक छ।
हिंसा र अफेन्सिव भाषाको अनुपस्थिति यो फिल्मको अर्को विशेषता हो। फिल्म सफल हुन हिंसा र अफेन्सिव भाषा हुन पर्दैन।
र अन्तमा, यो छोटो प्रतिक्रिया डायसपोरिक दृष्टिकोण बाट प्रेरित हो। यता सँधै नेपाली फिल्म वा थिएटर हेर्न पाइन्न। हलमा छक्कापन्जा हेरेपछि हेरेको यही फिल्म हो, अपेक्षाकृत धेरै राम्रो छ।
म त भन्छु नेपाल बाहिरका नेपाली पाठशालामा नेपाली भाषा संस्कृति सिकीरहेका बच्चाहरुलाई पनि यो फिल्म देखाउन हुन्छ।