म समालोचक, समिक्षक हैन । यो प्रतिक्रियामात्र हो । सबै पुस्तक पढेर लेख्ने जाँगर आउँदैन, मन नछोई प्रतिक्रिया लेखिन्न ।
राजनीतिज्ञले साहित्यबारेमा गरेको टिप्पणीजस्तो भद्दा मलाई अरु केही लाग्दैन । उनीहरू आफूलाई जे मा पनि पोख्त भन्ठान्छन्, जे मा पनि टिप्पणी गर्ने अधिकार छ उनीहरूलाई जस्तो गर्छन् । मलाई यो नर्सिसिज्मको लक्षण जस्तो लाग्छ । सन्दर्भ युग पाठकको उर्गेनको घोडाको हो । जसमा बाबुराम भट्टराईले टिप्पणी गरेका रहेछन् । उनले लेखेछन् ‘गला अवरुद्ध भयो, आँखा रसायो ।’ बौद्धिक बेइमानीको हद । अति हल्का र असुहाउँदो टिप्पणी, देख्नेबित्तिकै मलाई त्यो उपन्यास नपढीकन थन्याइदिन मन लाग्यो । तर त्यसकै मुन्तिर इन्द्र ब राईको टिप्पणी पढेँ र मलाई उक्त किताब पढ्न रिकमेण्ड गर्ने मैले अति नै सम्मान गर्ने व्यक्तिबारे सोचेँ, अनि एक ट्राई मार्नु प¥यो भन्ठानेर पढ्न सुरु गरेँ, समग्रमा पछुताउन परेन ।
समाजशास्त्रीहरू समाजमा घटेका घटना साहित्यमा प्रवेश गर्न बीस वर्षको समय लाग्ने बताउँछन् । त्यसभन्दा अगाडि रिपोर्टिङमात्रै हो भन्ने मान्यता हो । युग पाठकले धेरै हदसम्म जनयुद्धलाई नेपाली साहित्यमा प्रवेश गराउन सफल भएछन् ।
नेपाली फिक्सन लेखकहरूमा गहिरो र सुल्झिएको राजनीतिक चेत भएका थोरैमात्रै साहित्यकार छन्, मेरो विचारमा । जसमा बीपी एक हुन् । उनी ज्यादा मनोवैज्ञानिक कोणबाट लेख्छन् तर एकदमै अमूर्त रुपमा थोरै, अनि रुचिकर र सुहाउँदो गरी राजनीति पस्किन्छन् । बीपी साहित्यमा शुद्ध समाजवादी धारका लेखक हुन्, मेरो विचारमा ।
अर्का हुन्, राजेश्वर देवकोटा । उनी राजनीतिकवादलाई शास्त्रीय तवरले नेपाली साहित्यमा प्रवेश गराउने लेखक (पारिजातले अस्तित्ववाद प्रवेश गराएजस्तै) हुन् जस्तो लाग्छ मलाई । देवकोटाको ‘द्वन्द्वको अवसान’ समाजवादी दर्शन ‘वर्ग चेतना’ को एन्टिथेसिस हो ।
युग पाठक राजनीतिलाई गहिरो गरी बुझेका र साहित्यमा राजनीति आत्मविश्वास पूर्वक पस्किन सक्ने लेखक रहेछन् । उनको राजनीतिक चेत निकै गहिरो रहेछ । जटिल राजनीतिक दर्शनलाई सरलीकृत गरेर प्रस्तुत गर्न सक्ने खुबी रहेछ । उनले पात्र र परिस्थितिको तारतम्य मिलाएर ‘थाहा’ को सन्दर्भमा यस्तो लेखे– ‘रुनलाई पनि विचार चाहिँदो रहेछ, रुन पर्ने स्थिति चिन्न चेतना चाहिँदो रहेछ ।’ अति गहिरो र सटिक । यस्ता कैयौं उदहारणहरू छन् उपन्यासभरि ।
कथाको परिकल्पना र बुनोट अतिव सुन्दर छ, शास्त्रीयता छ, प्रशस्त खोज अन्वेषण छ, कथामा आधिकारिकता र कल्पनाशीलता छ । तर पहिलो उपन्यास भएर हो कि लेखन प्रस्तुति कमजोर छ । पात्रहरूको र कथाको संवेग संवादको आरोह अवरोहमा पाठकको भावना पनि मिसाउने प्रयत्न उनले गरेका छैनन् । एकतमासको रिपोर्टिङ स्टाइलको लेखन प्रस्तुति छ । खासखास परिवेशमा यो अलि ज्यादा खड्किन्छ । ठाउँ–ठाउँमा पाठकलाई कथाको प्लटभन्दा बाहिर, टाढै बसेर अवलोकन गरिरहेको आभाष हुन्छ ।
मेरो विचारमा, युद्धको प्रतिनिधित्व गर्ने तत्कालीन सत्ता पक्षतिर सहानुभूति राख्ने राजनीतिक दर्शन पनि उपन्यासमा पर्नु पथ्र्यो । अर्कोतिरको पनि थोरै कथा परेको भए उपन्यासको रंग बेग्लै हुन्थ्यो भने लेखकीय साहस र खुलापन पनि झल्किन्थ्यो । कथामा विविधता र व्यापकता खोज्ने पाठकलाई सुरुदेखि अन्तसम्म एउटै पक्षको एकोहोरो पक्षपोषण पट्यार लाग्दो छ ।
समग्रमा गुड रिड ।