समर आउटिङ


हामीले ड्राइभ गर्दा फोनको म्यापबाट दायाँ, बायाँ भन्नी महिला हुनुहुन्छ नि उहाँ कहिले खुसी भएर ‘अब दायाँ गैबक्स्योस्, बायाँ गैबक्स्योस्, ए झुक्किस्यो पख्स्योस् है (रि–राउटिङ)’ भनेझै लाग्नी, अनि कहिले रिसाएर ‘ए हरी लट्ठक त्यति नि था छैन, दायाँ मोड, बायाँ मोड, लौ हेर कान पनि सुन्दैनस्, पख फेरि भन्छु (रि–राउटिङ)’ भनेझै लाग्नी कारण के रैछ भनेर खुब घोत्लिएर सोचेँ ।
कुरोको चुरो त आफैंभित्र पो रैछ । आफू खुसी भा बेला उनले बोलेको राम्रो सुनिँदो रैछ, आफू रिसाएको बेला त्यसै निहु खोजेर च्याँट्ठिएजस्तो लाग्दो रैछ । कुरा बुझिहाल्नु भो होला, अब उनको ठाउँमा श्रीमती, साथी, छोर्छोरी, हाकिम, कस्टमर केयर रिप्रजेन्टेटिभ आदिलाई राखेर सोच्नोस्, म त इन्लाइटन्ड भएको छु । कैलेकाइँ ‘चिया यहाँ छ है’ भनेको सुनेर ‘हैन किन निउँ खोज्न प¥या होला’ भन्ने सोचाइ (सोचाइमात्र है, भन्नी आँट त काँ हुनु) मलाईमात्रै आउँछ कि अरुलाई नि हो ?
यसपालिको समर आउटिङ बच्चाहरूसँग नियाग्रा फल्स, मन्ट्रियल, क्युबेक सिटी हुँदै न्युयोर्क र वासिङ्टनबाट डालास फर्कियौं ।
नियाग्रा फल्स दोस्रोचोटि भए पनि अति रमाइलो भयो । डुंगामा लगभग फल्सकै छहरा नेर पुग्दा बडो आध्यात्मिक भइयो । सबैजना रमायौं ।
नियाग्रा फल्सबाट भोलिपल्ट पूर्वोत्तर लाग्यौं, टोरन्टोमा लन्चका लागि रोकियौं र साँझ क्युबेक सिटी पुग्यौं । क्युबेक सिटी सुन्दर रहेछ, पुरानो फ्रेन्च आर्किटेक्ट, मनमोहक । त्यहाँबाट फर्केर मन्ट्रियल बस्यौं, र भोलिपल्ट सीधा दक्षिण लागेर न्युयोर्क पुग्यौं । त्यसपछि यसपटकको अन्तिम स्टप वासिङ्टन पुगियो, त्यहाँ शिल्पासँग पनि भेट भयो, उनी त्यहीँ बस्छिन् र, आस्था, अञ्जली, आभा उनलाई भेटन खुब मन पराउँछन् । दिदीबहिनीहरू खुब रमाए । मेरो नेपालको कलेजकालीन मित्र लक्ष्मी र
परिवारसँग पनि रमाइलो भेटघाट भयो । त्यसपछि हामी डालास फर्कियौं । जाँगर लाग्यो भने कुनै दिन डिटेल शेयर गरौंला ।
तर हाललाई कुरा म्यापकै । न्युयोर्क आइपुग्ने दिन, दिनभरि छुट्टी त हो भनेर अल्याङ टल्याङ गरेरै बित्यो, शहर आइपुग्दा रातिको एघार बज्यो । पानी परेको भन्नुहोला गाग्री घोप्ट्याए जस्तो, पुग्नुपर्ने होटलसम्म । एक त डालासको मान्छेलाई त्यहाँ दिउँसै ड्राइभ गर्दा पनि घाँटी अठ्याएझै हुन्छ, त्यै माथि राति र घनघोर पानी । म म्याप हेरेर ड्राइभ गर्ने भइहालेँ, छोरी पनि ब्याकअप म्याप हेरिरहेकी छन् र श्रीमती पनि । गज्जबको कुरा के भने म धबशभको म्याप हेर्दैछु, छोरी गुगल र श्रीमती
एप्पलको । तीनथरी म्यापको ठ्याक मिल्दो रैन्छ । हाइवेबाट त जेनतेन बाहिर निस्कियो । पानी कुरीमण्डल छ । भित्री बाटोमा माथि हरियो बत्ती पीलपील देखिन्छ, तल बाटोमा कुखुराले अण्डा कोरल्दै छ कि, मेस्सीले स्वारेजको कान टोक्दै छन् कि, न्युयोर्कका नेपालीले नेपाल डे परेड गर्दै छन् केई भेउ पाइएको हैन । दिनभरिको सबभन्दा ठूलो फसाद त अझ आउनै बाँकी रैछ ।
एउटा चौबाटोमा मेरो म्यापले सीधा जा भन्यो, छोरीकोले दायाँ र श्रीमतीकोले बायाँ । परेन आपत् । झल्यास्स पण्डितले गरुड पुराण भनेको सम्झेँ ‘त्यो ठाउँमा पुग्नी चारोटा बाटा छन्, एउटाको वरिपरि फूल बगैंचा अप्सरा, अर्कोमा बाघ भालु, गोही, अझ अर्को मा …’। अब म के गरुँ ? आँखा चिम्लेर बायाँ काटेँ । कुरो बुझ्नु भो नि, कस्को फोनले बायाँ भन्याथ्यो ।
तर बायाँ काट्न भ्या छैन श्रीमतीको फोन बज्यैले त एकैचोटि च्याँट्ठिएर रि–राउटिङ पो मर्जी भयो, मेरो मन कति गदगद भयो होला, केई बोल्न भयो अब ?
जे होस् येन केन प्रकारेण होटल पुग्दा विश्वयुद्ध जितेर आएजस्तो भाथ्यो । विश्राम गरेर भोलिपल्ट बिहानै उठेर कहाँ जानी अरे ? भन्दै फेरि म्यापकै शरणमा !

Submit comment

Allowed HTML tags: <a href="http://google.com">google</a> <strong>bold</strong> <em>emphasized</em> <code>code</code> <blockquote>
quote
</blockquote>