जुलाई ३०, २०१९ । यसपालि टेक्सासमा अघिल्लो वर्षहरूजस्तो गर्मी बढेन, तर आज भने अलि गर्मी नै छ । आज ९५ डिग्री फरेनहाइट पुग्ने फरकास्ट छ । बिहान शीतल छ, खुलेको आकाश, हल्का हावा समरको हरियाली । म साढे सात बजेतिर उठेर हात मुख धोइवरी कफी बनाउँछु भनेर किचनमा पुग्दा श्रीमतीले कफी मेसिनमा पानी र कफी राखिसकेकी रहिछिन् । मलाइ गाढा कफी मन पर्छ । उनलाई हल्का गाढा । म ब्रेकफास्ट बनाउनतिर लागेँ । आस्था अफिस जाने तयारीमा छिन् । उनको आफ्नै रुटिन छ । मैले आभा, अञ्जली र रोहिणीलाई एग पोच बनाएर ब्रेड टोस्ट गर्दिएँ । आफूलाई भने मेथी र जिरा पड्काएर अम्लेट बनाएँ र ब्रेड पनि टोस्ट गरेँ । मलाई ब्रेकफास्ट बनाउन खुब मन पर्छ, तर ब्रेकफास्ट खान भने त्यति मन पर्दैन । लन्च, डिनर र ब्रेकफास्टमध्ये खान गाह्रो लाग्ने मिल ब्रेकफास्ट हो । सबैजना बसेर खॉयांै । म आभा र अञ्जलीलाई लिएर निस्केँ ।
बिहान साढे आठ बजेको समरको हल्का ट्राफिकसँग बग्दै हामी क्यारोल्टनको ड्राइभिङ लाइसेन्स अफिस पुग्यौं । आज अञ्जलीले ड्राइभिङ लाइसेन्स लिने दिन । ऊ बाटोभरि पछिल्लो सिटमा बसेर फुर्की राखी । कुरा कुरामा आभासँग जिस्की राखी र निहु झिकेर ठ्ूलठूलो स्वरले हाँस्थी पनि । अञ्जली सामान्य रुपमा गम्भीर खालकी केटी हो, धेरै हॉसो गर्ने र खुलेर हॉसिरहने उसको बानी छैन । तर आजचाहिँ अति नै खुसी छे । हिजो उसले ड्राइभिङ लाइसेन्स टेस्ट पास गरी र आज लाइसेन्स लिन हामी ड्राइभिङ लाइसेन्स अफिस जॉदै छौँ । यसैले ऊ औधी खुसी छे । सधैँ बाउ, आमा र दिदीसँग बसेर ड्राइभिङ गर्दा पाइने भाषण र प्रवचनबाट मुक्ति पाइनेमात्र नभई आर्फै एक्लै गाडी चलाएर हिंड्ने स्वतन्त्रता पाउने भएकी छ ।
उसको कलेज पनि सुरु हुँदैछ अबको २० दिनमा । त्यसैले हामीलाई पनि हतार छ, उसलाई लाइसेन्स लिइदिन । प्रशस्त प्राक्टिस गरेकी छ । आफैं गाडी चलाउन र घर कलेज गर्न सक्छे भन्नेमा हामी ढुक्क छौं । लाइसेन्स अफिस पुग्दा बाहिर पार्किङ लटसम्मै लाइन देखेर ऊ अलि हतास भई । उसलाई लाइनमा छोडेर आभा र म अफिसभित्र गयौँ र कति समय लाग्ला भनेर सोध्यौं, किन कि उसको ३ बजे डेन्टिस्टको अपोइन्टमेन्ट छ । ऊ त भ्याइएन भने डेन्टिस्ट अपोइन्टमेन्ट सार्नुपर्छ तर लाइसेन्स आजै लिनुपर्छ भन्नेमा छे । उसलाई त्यहीँ छोडेर आभा र म यूटीडीतिर हानियौं ।
आज आभाको समरको दुई दिने लर्निङ क्याम्पको दोस्रो दिन । यो क्याम्पमा ऊ वेभसाइट कोडिङ सिकिरहेकी छ । हामी उसकै क्याम्प र कोडिङसम्बन्धी कुरा गर्दै यूटीडी पुग्यौं । म उसलाई प्रश्नहरू सोधिरहन्छु, कहिले गम्भीर र कहिले हल्का फुल्का । मैले गम्भीर प्रश्न सोद्धा ऊ अल्छी मानेर उत्तर पुग्ने गरी मात्र बोल्छे, उसको रुचिको प्रश्न भयो भने, सिट अगाडि सरेर दुइटा हातले गाडीका दुइटा अघिल्ला सिट समातेर मेरो कानैनेर आएर मच्ची–मच्ची बोल्छे । आज उसका समर क्याम्पहरूको अन्तिम दिन हो । त्यसैले ऊ उत्साहित पनि छे । साथै आज सॉझ आस्थालाई गाडी किन्ने भन्ने कुरा छ, त्यसैले ऊ पनि हामीसँगै जाने भनेर उत्साहित बनेकी हो, र अञ्जलीले आज लाइसेन्स लिएर आउँछे भनेर पनि खुसी छे । १२ वर्षकी आभालाई आजै ड्राइभिङ सिक्न मन छ, अञ्जलीले कहिलेकाहीँ गाडी चलाउन अल्छी मानेको देखेर ऊ जिल्ल पर्छे ।
मैले गाडी पार्किङमा रोक्दै गर्दा पौने दश बजेको थियो । घाम चर्किसकेको थियो । यो टेक्सासको मध्य गर्मी समय हो । सफा आकाशमा केही चम्किला सेता टुक्राटुक्री बादल कपासको भुवाझैं उडिरहेका थिए । पार्किङ लटको कालो पिच तातेर अलिअलि राप आउन थालिसकेको थियो । आभा र म देब्रेपट्टिको पार्किङबाट बाटो काटेर दाहिनेपट्टिको ‘रेजिडेन्सियल हल वेस्ट’ भवनभित्र छियौं । म उसलाई चेक इन गरी वरि ‘लिन आउँछु है’ भनेर बाहिर निस्केँ ।
बिहानैदेखि थुप्रै कामका फोनहरू आइसकेका थिए, सबैलाई पछि कल गर्छु है भनेर टेक्स्ट रिप्लाई गरेको थिएँ । गाडीमा पुगेर एक एक गरेर कलहरू रिप्लाई गरेँ, के के गर्नुपर्ने हो नोट गरेँ । म गाडीमा हुँदाको समय कि त कामका कलहरू गर्छु वा कुनै कविता, कथा, पुस्तकबारे सोचेर आनन्द लिन्छु । कहिलेकाहीँ यस्तो कविता लेखेँ त हुन्छ होला भनेर प्लट पनि फुर्छ, तर कागज र कलमनेर पुग्दा धेरैजसो प्लटहरू भेट्न नसक्ने ठाउँमा पुगिसकेका हुन्छन् । फोनमा कुरा गर्दै घर पुग्दा बिहानको एघार बज्यो, त्यही बीचमा अञ्जलीसँग के भइरहेको छ भनेर दुई÷तीनपटक अपडेट भएँ । मेरो अनुमानअनुसार उसको काम साढे एकतिर सकिन्छ र पिक अप गर्न जानुपर्छ भन्ने मेन्टल नोट पनि लिएँ ।
घर पुगेर दुई÷चार अर्जेन्ट इमेलहरू रिप्लाई गर्दैमा बाह्र बज्यो भोक पनि लाग्यो । रोहिणी बिहानैदेखि अफिसमा बिजी छन् । उनी र म किचनतिर लाग्यौं । फ्रिज खोतलखातल पारेर लेफ्टओभर निकालियो । उनले हिजो लन्चको लेफ्टओभर नुडल्स खाने भइन् । मैले हिजो डिनरको लेफ्टओभर दालभात खाने भएँ । रोहिणीले तताई सकेपछि खान बस्यौं । उनलाई अलिकति वजन घटाउन र मलाई भात धेरै नखान डाक्टरले उर्दी जारी गरेको बारे कुराकानी गर्दै, गिल्टी फिल गर्दै खाना खायौं । मैलेचाहिँ जे होस् होस् परेको व्यहोरौंला भन्दै एक थाल भात पड्काएँ । श्रीमतीको सेल्फ डिस्पिलिन मेरोभन्दा राम्रो छ, खाने मामलामा । कहिलेकाहीँ त सोच्छु, मान्छेले जिन्दगीलाई के बनायो ? यता पनि रेस्ट्रिक्सन, उता पनि रेस्ट्रिक्सन । कति कुरा त गर्नै नसकेर रेस्ट्रिक्ट हुन्छ, कतिचाहिँ गर्न नपाएर । जिन्दगी त फाइनाइट छ, निश्चित समय को, न उसले कहिल्यै केही गरिसक्छ न केही नगरी बस्न सक्छ । खयर यो विषयको मथिङ्गल पछि गरौंला । खाना खाइसक्दा एक बज्यो, अञ्जलीले फोन गरेर केही कागजात मागी, पठाइदिएँ र तुरुन्तै काम सकियो लिन आउन पनि भनी । उता आभाको पनि दुई बजे प्रोजेक्ट शो केश छ यूटीडीमा । म यूटीडीतिर लागेँ । श्रीमती अञ्जलीलाई पिक अप गरेर उसको ३ बजेको डेन्टिस्ट अपोइन्टमेन्टमा जान हिंडिन् ।
यूटीडी पुग्दा ठ्याक्कै दुई बज्यो, कन्फ्रेन्स हलमा दुइटा ठूलठूला पर्दा लगाइएको, चार÷चारजनाको समूहमा केटीहरू हॉस्दै मस्किदै आआफ्नो प्रोजेक्ट प्रेजेन्ट गर्ने तयारीमा थिए । यो क्याम्प को शीर्षक ‘वोमेन इन् आईटी’ हो, यूटीडीसँग सम्बन्धित कुनै संस्थाले आयोजना गरेको, त्यसैले सहभागीहरू आभाकै उमेर समूहका केटीहरूमात्र छन् । हलको एक भागमा बाउआमालाई बस्ने छाउँ छुट्याइएको छ, अगाडि पोडियम भएतिर केटीहरू समूह समूहमा बसेका छन् । एक एक समूहको बेग्लाबेग्लै प्रोजेक्ट थिम रहेछ । त्यही थिमभित्र रहेर उनीहरूले वेभसाइट बनाएका रहेछन् । थिमहरूचाहिँं धेरैजसो वातावरणीय ह्राससम्बन्धी रहेछन् । एउटा समूहको भने बेरोजगारी र घरविहीनहरूको समस्याबारे रहेछ । आभाको समूहको थिमचाहिँ ‘हवाईनजिकै समुद्रमा जम्मा भइरहेको प्लाष्टिकको आइल्याण्ड’ बारे रहेछ । हाल त्यो प्लाष्टिक को आइल्याण्ड टेक्ससकै साइजको भएको र बढ्ने क्रम जारिरहेको भनेर उनीहरूले मार्मिक प्रेजेन्टेसन गरे । हुन पनि हो, हामीले कति प्लाटिक प्रयोग गर्छाैं दिनभरिमा संसारभर ? त्यो धेरैजसो त घुमी फिरी समुद्रमै पुग्ने हो । समुद्रमा त्यो प्लाष्टिक ओसियानिक करेन्टहरूले गर्दा ठाउँ ठाउँमा जम्मा हुँदो रहेछ । तीमध्ये एउटा ठाउँ हवाईनेर रहेछ । सबैले राम्रो प्रेजेन्टेसन गरे, कति रिसोर्सफूल, चलाख र ज्ञानी हुन् आजकलका बच्चाहरू, म अचम्म पर्छु । यो सकिएपछी आभा र म त्यहाँबाट निस्कियौं । भित्रको चिसोबाट ह्वात्त बाहिर निस्कंँदा हप्पगर्मी भयो । बिहानको हल्का रापवाला पार्किङ लट त हपहपी तातो, ९४ डिग्री तापक्रम, अझै यो त कहॉ गर्मी हो र, ११० सम्म पुग्छ टेक्ससको तापक्रम ।
हामी यूटीडीबाट निस्क्यौं । बाटोमा आभासँग उसको प्रोजेक्टबारे सोधेँ । उसले रुचिपूर्वक बताई । मैले ‘नयाँ साथी पनि बनायौं त’ भनेर सोधेँ । उसले ‘बनाएँ तर फोन इमेल साट्ने फुर्सदै भएन, एउटीकोमात्र इमेल लिएँ,’ त्यो पनि प्रोजेक्टकै सिलसिलामा हो भनी । अनि मैले ऊसँग जिस्किएर ‘हिजो र आज त सबैले तिम्लाई एभा भने नि ? तिम्ले सच्याइनौं’ भनेँ । ऊ सिरियस भई र भनी ‘म दुई दिन भेट्ने मान्छेलाई सच्याएर समय खेर फाल्दिन, पछि भेट हुने सम्भावना छ भनेमात्र सच्याउँछु’ मलाई यो कुरा सुनेर गज्जब लाग्यो । उसको नाम थाहा नपाउनेले अंग्रेजी स्पेलिङअनुसार एभा भन्छन्, तर खास उच्चारण नेपालीमा आभा हो । उसलाई पनि आभा भनेको मन पर्छ । म पनि अचम्म पर्थेँ किन उसले कसैलाई सच्याउँछे कसैलाई सच्याउन्न भनेर, आज रहस्य खुल्यो । उसले अझ हौसिँदै भनी, ‘म स्कुलमा सब्सिच्युट टिचरलाई पनि सच्याउन्न, एक÷दुई दिन आउने हुन् किन क्लासको समय खेर फाल्नु भनेर, तर धेरैजसो साथीहरूले सच्याई दिन्छन् ।’ त्यसपछि उसले अञ्जलीले लाइसेन्स लिई ? आज आस्थाको गाडी किन्न जानी हो ? भनेर सोधी । कुरा गर्दै हामी घर पुग्यौं, अञ्जली र रोहिणी पनि आइपुगे एकै छिन्मा ।
साढे चारजति बजेको हुँदो हो, भूमिका बैनी र माया बैनी आइ पुग्नुभयो । भूमिका बैनी र रोहिणीका साथीहरू बेलाबेला आउनु हुन्छ गफगाफ गर्न । यतिबेला भने मेरी सासू बितेको एक महिना पनि भएको छैन घरको माहौल अझै इमोसनल छ । आज उहॉहरू आउनेबित्तिकै कसरी हो कुरो एक्सरसाइज र वजन घटाउनेतिर पुग्यो । दु्वैजना बैनीहरूले जिम ज्वाइन गरेका छन्, रोहिणीलाई पनि आउनु न दिदी भने । तर रोहिणी एक्सरसाइजको मामलामा कमजोर छिन, मैले तपाईहरूको फोटो खिच्न आइदेलिन भनेर हॉसो गरेँ । अञ्जलीले चिया बनाई, चिया खाइसक्दा साढे पॉच बज्यो । आस्था अफिसबाट आई । उहाँहरूलाइ गफ गर्दै गर्नुस् है भनेँ र म, आस्था, अञ्जली र आभालाई लिएर आस्थाको लागि गाडी किन्न लुइसभिल टोयोटातिर लागेँ ।
अनलाइन हेरी वरी एउटा गाडीको लागि अपोइन्टमेन्ट बनाएको थिएँ । उसो त हिजो पनि ग्रेपभाइन टोयोटा गएका थियौं, एउटा राम्रो गाडी भेटिएको पनि थियो तर रातो रङको भएको हुनाले आस्थाले किन्नै मानिन । त्यसैले म आज अलि इरिटेटेड छु भनेर तीन दिदीबहिनीलाई थाहा थियो र उनीहरू तीनैजना मिलेर मलाई मस्का लगाइरहेका थिए । त्यै पनि म किन मौका छोड्थेँ, गाडी छनौट र रुचिबारे अलिकति प्रवचन त दिइहालेँ । अनि हिजोको गाडी राम्रो थियो पनि भनिहालेँ । मलाई गाडी किन्ने जस्तो अन्प्लेजेन्ट काम केही लाग्दैन । पहिला त मन पर्ने गाडी भेटाउन प¥यो, त्यसपछि सेल्स म्यानसँग मोलतोल गर्न प¥यो, अनि फाइनान्स वालासँग ब्याजदर र फिसको मोलतोल गर्न प¥यो । त्यसपछि इन्सुरेन्स कम्पनीहरूसँग मोलतोल गरेर इन्सुरेन्स किन्न प¥यो, अनिमात्र गाडी लिएर निस्कन पाइन्छ । त्यही बीचमा सेल्स म्यानहरूका सारा तिग्डम र नाटक हेर्न, सहन र पार गर्न पर्छ । कम्तीमा साढे तीन÷चार घण्टा समयको काल हो गाडी किन्ने काम । मैले घरपरिवार र साथीहरूको गाडी किन्ने अनुभव कम्तीमा पनि पच्चीस पटक गरेको छु, बितेका चौबीस वर्षमा ।
तर आस्थाको त यो पहिलो कार हो । ऊ भर्खर जीवनको नयॉ फेजमा कदम राख्दै छे, घरको र बहिनीहरूको अलि बढी चासो राख्न थालेकी छ । बच्चाहरू हुर्कँदै जॉदा कसरी बिस्तारै चेन्ज हुन्छन् र खारिन्छन् । हामी पनि त त्यही प्रोसेसबाट गुज्रेर आएका हौं । उसले भर्खर कलेज सकेर फुलटाइम काम सुरु गरेकी छ । आफ्नै लगानीमा किन्न लागिएको गाडी भएकोले ऊ गर्वित छे र नर्भस पनि । तर सबैभन्दा बढी उत्साहित छे । म यति उत्साहित उसको जस्तो उमेरमा के गर्दा थिएँ होला भनेर सम्झिने कोसिस गर्छु तर, सम्झिन सक्दिन । गाडीको मोलतोल इत्यादि भइरहँदा आस्था पूरै सहभागी भई भने आभा र अञ्जली कहिले कन्फ्युज हुँदै कहिले रमाइलो मान्दै बसिरहे । फुर्सद हुँदा डिलरसिपमा राखिएको पपकर्न खॉदै तीनै जना दिदीबहिनी गफिइराखे । वरपर खाना किन्न पाइने ठाउँ थिएन, आठ बजेतिर भोक लाग्न थालेपछि अन्जलीले खानामा के पाकेको छ भनेर आमालाइ टेक्स्ट गर्न थाली ।
गाडी छानियो, सिल्भर क्याम्री, टेस्ट ड्राइभ गरियो, नाटक गर्दै वर्दै मोलतोल पनि भयो, म पनि कम नाटक गर्दिन परी आएको बेला । अर्काे नाटक फाइनान्समा पनि भयो, कुरा गर्दै जॉदा त उसले म रातिको नौ बजे मोलतोल (नेगोसिएट) गर्दिन पो भन्यो । मैले हॉसेर म पनि गर्दिन, उसो भए मैले भनेको मान्देउ न टन्टै साफ, मेरा बच्चाहरू त यही छन् तिम्रा त घरमा कुरिरहेका होलान् भन्दिएँ । मेरो पनि पेसा फाइनान्ससम्बन्धी नै भएकोले उनीहरूका ट्रिक र नाटकहरूबाट बच्न म पहिल्यै मेरो पेसा र एक्सपर्टिजबारे भन्दिन्छु, त्यही पनि प्रयास छाड्दैनन् । अन्तमा कुरो मिल्यो, इन्सुरेन्स, ट्याग नम्बर इत्यादि सारा काम सकेर साढे दश बजे हामी गाडी लिएर निस्क्यौं । आस्था नयॉ गाडीमा बहिनीहरूलाई राखेर अघि लागी, म उनीहरूलाई फलो गर्दै पछि पछि हिंडे । आभा र अञ्जली आस्थाको गाडीमा बस्न पाएसम्म उसैलाई रोज्छन् । अब अञ्जलीले पनि गाडी चलाउन थालेपछि यो डाइनामिक्स चेन्ज हुन्छ होला, कसरी चेन्ज हुन्छ हेर्न बॉकी छ । घर आइपुग्दा एघार बज्यो । आस्थाको पुरानो गाडी अब मेरो भयो भनेर चाबी लिएर अञ्जली खुसी भई । खाना खॉदा र दिनभरिको गफ गरेर सबै जना डिनर टेबलबाट उठ्दा बाह्र बज्यो । सामान्यतया हामी ७ बजे डिनर खाइसक्छौं तर समरमा यो रुटिन बिग्रन्छ ।
र, फेरि अन्तमा कुरो जिन्दगीकै । बच्चाहरूको ससानो माइलस्टोन पूरा हुँदा मलाई नयॉ कविता लेखेजस्तै आनन्द आउँछ, सबैलाई यस्तै त होला ? उनीहरूको, उनीहरूका साथीहरूको, मेरा सबै परिवार र साथीहरूको हॉसो खुसीले मनभित्र पैदा गर्ने मीठो विद्युतीय तरंग नै होला जिन्दगीको सार शायद । यही सोच्दै म बेड रुममा पस्छु, यति गर्दा मिति पनि चेन्ज भइसकेको रहेछ, फोनलाई चार्जरमा जोडेर दैनिक रुपमा खाने औषधि खाएर बिछ्यौनामा पल्टेँ । यसरी विदा भयो जुलाई ३०, २०१९।