यो साता अनेसासको आयोजनामा डालासमा सरस्वती ज्ञवालीको संस्मरण ‘लालटिनको उज्यालोमा’ नामक पुस्तक चर्चा गर्ने मौका जुट्यो । संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै न्युयोर्क आएकी लेखिकाको टेक्ससमा आफन्तहरूसँग भेटघाट गरी सिकागो जाने क्रममा ५५ मिनेटजति बचेको समय सदुपयोग गरी पुस्तकचर्चा कार्यक्रम सम्पन्न भएको हो । त्यो कार्यक्रममा मैले पनि पुस्तकबारे केही बोल्ने अवसर पाएको थिएँ । पुस्तक श्रीकृष्ण गौतमजीले केही दिनअघि पठाइदिनु भएको थियो । पढी सकेर गरेका केही टिपोटहरूलाई व्यवस्थित गरी यो लेख तयार भएको हो । कथा लेखिकाकै जीवन वरपर घुम्छ ।
१५ वर्षे कलिलो उमेरमै विवाह गरिदिन लागेपछि उनी विद्रोह गर्छिन् र मनभरि पढ्ने रहर बोकेर घर छोड्छिन्् । पढाइ र तानसेन बसाइको क्रममा उनी देशको तत्कालीन राजनीतिक आन्दोलनसँग जोडिन पुग्छिन् । २०४१ सालमा प्रदीप ज्ञवालीसँग विवाह हुन्छ । त्यसपछिका गाउँले जीवनका कठिनाइहरू, कष्टकर राजनीतिक परिस्थिति, बच्चाहरू जन्मिने र हुर्किने क्रमका आरोहअवरोह, राजनीतिक पुर्वाग्रहको कारण एकै ठाउँमा जागिर गरेर बस्न नपाइने परिस्थिति, भूमिगत राजनीतिमा होमिएका श्रीमान्सँग त्यति सम्पर्क नहुँदा भएको मानसिक पीडा आदिको वर्णन पुस्तकमा छ । लेखिकाले विषयवस्तु बनाएकै समयमा उही भौगोलिक क्षेत्रमा हुर्के बढेको हुनाले पनि मलाई लेखिकाको कथासँग जोडिन गाह्रो भएन । म पुस्तकमा चुर्लुम्म डुबेँ ।
लेखिका इमान्दारितापूर्वक सरल रुपमा प्रस्तुत भएकी छन् । पाठकको ध्यान कथामै तानिरहन सक्नुको मुख्य कारण त्यही हो । सरल तरिकाले साधारण बोलीचालीको भाषामा मानवीय संवेदना र संवेगहरू पस्किन सक्ने लेखिकाको सीपले नै नेपाली वाङ्गमयमा यो पुस्तक छुट्टै परिचय स्थापित गर्न सफल भएको हो झै लाग्यो । पुस्तक २४४ पेजको छ । पुस्तकको अन्त भाग लेखिकाले आफन्तहरूको सम्झनाको लागि समर्पित गरेकी छन् । मुख्य विषयवस्तु पेज नम्बर १९० तिर सकिन्छ । पुस्तकको अन्तमा केही सान्दर्भिक तस्विरहरू पनि समाविष्ट छन् ।
यो पुस्तक पढ्दा पाठक आफ्नो परस्थितिअनुसार अनेक थरी भावनाहरूमा बग्छ, कति ठाउँमा आँखा पनि रसाउँछन्न् । अति भावनाप्रधान छ यो पुस्तक । त्यसैले मैले यो प्रतिक्रिया ती सबै भावनाबाट आफूलाई छुट्याएर तयार पारेको हुँ ।
पुस्तकमा लालटिनलाई तीनवटा विम्बका रुपमा प्रयोग गरिएको छ । पहिलो, लेखिकाले सामाजिक अभियानको थालनी गर्दा दिउँसै बालेको लालटिन । दोस्रो, लेखिकाको आफूले पढ्नुपर्छ, समाजको भलो गर्नुपर्छ, नारी अधिकार स्थापित गर्नुपर्छ भन्ने अठोटको लालटिन र तेस्रो, लेखिकाकी पहिलो सन्तान छोरी क्षितिज, जो कठिन परिस्थितिमा शारीरिक रुपले अशक्त जन्मिइन् । क्षितिजको कथा पनि पुस्तकमा सेकेण्डरी स्टोरी लाइनको रुपमा सुरुदेखि अन्तसम्म चलेको छ ।
यो पुस्तक संघर्ष र अप्टी मिज्मको कथा हो । मैले त्यो संघर्ष र अप्टी मिज्मलाई तीनवटा कोणबाट हेरेँ ।
पहिलो, व्यक्तिगत– असाधारण इच्छा शक्ति भएकी लेखिका सानो उमेरमै घरबाट निस्केर हिंडेपछि उनले झेल्नु परेका चुनौतीहरू, विवाह भइसकेपछि पनि श्रीमान् श्रीमती बेग्लाबेग्लै बस्नु पर्दाका पीडाहरू मार्मिक रुपमा प्रस्तुत भएका छन् । लेखिका ज्ञवालीले बाँचेको चुनौतीपूर्ण जीवनमार्फत् तत्कालीन समाजको स्वास्थ्य सुविधा, रोजगारीको अवस्था र शिक्षाको अवस्था कस्तो थियो त्यो पनि छर्लङ्ग बुझ्न सकिन्छ । क्षितिजको जन्मको वरपरको परिस्थितिमा गाउँमा स्वास्थ्य उपचारको अभाव असाध्य खट्किन्छ । लेखिकाले ११ वर्षको उमेरमा १२ वटा जागिर फेरेको क्रोनोलोजी लिपिबद्ध गरेकी छन्, यसले तत्कालीन नेपालमा रोजागारी कुन अवस्थामा थियो भन्ने प्रष्टिन्छ । उनी शिक्षिका हुँदाको स्मरण गर्दै एउटा विद्यालयको कथा लेख्छिन् ( एउटा कक्षा पीपलको फेदमा, एउटा पोखरीको एक छेउमा र अर्को चौरमा हुन्थ्यो । कति सटिक र मार्मिक विवरण । मैले स्कुल जाँदा आमाले बुनेको बाबियोको थर्कटी र हजुरबाले बनाइदिएको काठको कालोपाटी बोकेर स्कुल जाने गरेको र दिनभरि चौतारामा बसेर पढेको झल्झली सम्झेँ । लालटिनको उज्यालोमा पढिरहँदा म आफ्नै उतिवेलाको परिवेशमा पुगेँ । यसकारण यो पुस्तकले मलाई छोयो । शिक्षा क्षेत्रमा केही विकास भए पनि हामीकहाँ अझै पनि माथि भनिएका क्षेत्रहरूमा स्थिति उही छ भन्दा अन्यथा नहोला ।
दोस्रो, राजनीतिक– लेखिका घर छोडेर हिँड्नेबित्तिकै देशको तत्कालीन राजनीतिक आन्दोलनसँग जोडिन पुग्छिन् । यो त्यतिबेलाको कथा हो जुन बेलाका दुई÷तीन पुस्तालाई नै निरंकुशताबिरुद्धको राजनीतिले गुटमुट्याएको थियो । पुस्तकमा कसरी गाउँगाउँमा राजनीतिमार्फत् जनअधिकार स्थापनाको अभियान चलाइयो । जनताको उत्पीडन कतिसम्म थियो, लेखिकाको भूमिका के रह्यो भन्ने कुरा वर्णित छ । त्यसैले यो पुस्तकलाई नेपालको तत्कालीन राजनीतिक र सामाजिक इतिहासको रुपमा पनि लिन सकिन्छ ।
तेस्रो, महिला आन्दोलन– पुरुषप्रधान समाज ४० हजार वर्षदेखि स्थापना हुन थालेको हो । अझै रोकिएको छैन । ४० हजार वर्षअगाडि कुनै धर्म, देश, कुनै वाद इत्यादि थिएनन् । त्यसैले महिला अधिकारको कुरा कुनै देश, धर्म इत्यादिसँगमात्र सीमित छैन । लेखिकाले विषयवस्तु बनाएको समयको नेपाली समाज त अछूतो रहने कुरै भएन । लेखिकाले महिला आन्दोलनमा आवद्ध भएर खेलेको भूमिका र संघर्ष पुस्तकमा प्रखर रुपमा आएको छ । पार्टीभित्रै पनि महिलालाई फरक व्यवहार गरेको प्रसँग पुस्तकमा उल्लेख छ । लेखिकाको यो कथा पढिरहँदा मलाई मेरी आमाको झल्झली सम्झना भइरह्यो, उनले के के भोगिन् होला, उनले संस्मरण लेखिन् भने कस्तो बन्थ्यो होला । मेरा बहिनीहरूले के भोगिरहेका छन्, मेरा छोरीहरूले के भोग्ने छन् ? मनमा कुरा खेलिरहे ।
केही यस्ता प्रसंगहरू छन्, पुस्तकमा जसले मन निचोरिन्छ । कतैकतै पारिजातको ‘शिरिषको फूल’ र सात्र्रको ‘द एज अफ रिजन’ को झझल्को दिने अस्तित्ववादी छनक पनि छ पुस्तकमा, लेखिका त्यो रुपमा दीक्षित होइनन् तर नैसर्गिक रुपमा त्यो पोखिएको छ केही ठाउँमा ।
लेखिकाको अर्काे सीप भनेको प्रश्न गर्ने हो । पुस्तकभरि प्रश्नहरूको थुप्रो छ । किन मैले पढ्न नपाउने भन्ने प्रश्नबाट सुरु भएका प्रश्नहरूको क्रम, किन गरिब किसानको, महिलाको, देशको स्थिति यस्तो भन्नेमा पुग्छ । किन एउटै पार्टीको नेतामा फरक व्यवहार, किन मन्त्री भएपछि नेताको व्यवहार फरक भन्नेमा पनि प्रश्न उठाएकी छन् उनले । यही क्रममा मेरो मनमा पनि एउटा प्रश्न उठिरह्यो, त्यो स्तरको संघर्ष र इमान्दारिता पार गरेर आज यो अवस्थासम्म पुग्दा लेखिका आजको नेपाल र नेपाली राजनीतिबाट कत्तिको सन्तुष्ट र आशावादी छन् होला ?
कसैले यो पुस्तकबारे ‘आख्यानको आनन्द दिने गैरआख्यान’ लेखेको देखेँ । सहमत भएँ । सल्लीपीर, उपल्लो थलो, उर्गेनको घोडा जस्ता भौगोलिक क्षेत्रलाई आधार बनाएर बुनिएका सामाजिक र राजनीतिक कथाजत्तिकै आनन्द यो पुस्तकले दिन्छ । पुस्तक मलाई यथेस्ट ्िबचारोत्तेजक पनि लागेको हो ।
कला र भाषाशील्पलाई गौण राखेर लेखिकाले आफ्ना संघर्ष र अप्टीमिज्मका कथा व्यावहारिक तवर ले भावनात्मक रुपमा जस्ताको तस्तै सरल र साधारण भाषामा प्रस्तुत गरेकी छन् । पुस्तकको स्ट्रेन्थ पनि त्यही हो ।