केही महिनाको कामको निर्मम चापबाट मुक्ति पाउन यसपाली छोटो समयका लागि रोहिणी र म युरोप तिर लाग्यौं। निस्कनुअघि मनमा एकहप्ता भएपनि कामबाट टाढा जाउँ, केही पढ्न बाँकी किताबहरू पढौं भन्ने मात्र थियो। नारायण ढकालको प्रेतकल्प र पल डेभिसको mind of god साथमा लिएको थिएँ । तर योरोप, प्रकृति र संस्कृतिको यस्तो संगम रहेछ, किताबमा ध्यानै गएन।
डालासबाट हामीहरू पहिला स्वीट्जरल्याण्डको जुरिच गयौं । पहाड नदीनाला, ताल र झरनाहरूको संगम रहेछ जुरिच। योरोपको सबै भन्दा ठुलो वाटरफर राइनफल्स पनि नजिकै रहेछ। जुरिच सहर सानो तर स्विट्जरल्याण्डको बैङ्किग र वित्तीय केन्द्र, सबै सुविधाहरूले युक्त तर महङ्गो ठाउँ रहेछ। जुरिच नदीको दुबै तिर अवस्थित यो शहर सरर हिडेर घुम्ने हो भने एक दिनमा सकिने, यहाँको सांस्कृतिक विविधता र किनमेल, खानपानमा हामीले तीनदिन वितायौं।
जुरिचपछि हामी स्विट्जरल्याण्डस्थित योरोपको सबै भन्दा अग्लो टाकुरा टप अफ द योरोप भनिने Jungfraujoch जानका लागि इन्टरलेकन भन्ने सहर तिर लाग्यौं। सानो सफा र प्रकृतिको काखमा रहेको यो सहर दुईवटा तालको बीचमा र चारैतिर हिमाच्छादित टाकुराहरूले घेरिएको रहेछ। साँझ सहरमा घुमघाम गरीवरि भोलिपल्ट विहानै रेल र केबलकारबाट हामी Jungfraujoch पुग्यौं । यो यात्राको सबैभन्दा रमाइलो क्षण त्यही भयो। समुद्र सतहबाट चारहजार एकसय मिटरको उचाइमा रहेको त्यो ठाउँ पुग्दा मन्दमन्द हिउँ परिरहेको थियो। हामी तीन घन्टा जति त्यहाँ हिउँमा खेल्यौं, रमायौं । मौसम घरी घाम लाग्ने घरी बादल लाग्ने भैरह्यो । चिसो अति बढेपछि त्यहींको रेस्टुरांमा खाजा खाएर सुन्दर सिनिक बाटो हुँदै रेल चढेर तल सहर झऱ्यौं। भोलिपल्ट एकछिन सहर घुमीवरि त्यहाँबाट स्विजरल्याण्डको राजधानी बर्नतर्फ लाग्यौं।
बर्न पनि धेरै ठुलो सहर होइन रहेछ। कन्चन बर्न नदी सहरको बीचबाट बग्दो रहेछ। यौटा कुरा यो यात्राभरि लागि रह्यो कि स्विट्जरल्याण्ड सुन्दर र सफा हुनुको कारण यहाँका सबै पानीका श्रोत र मान्छेका मन सफा र कञ्चन रहेछन्। सहरको एकछेउ पहाडको फेदमा एक जोडी जङ्गली भालुको वासस्थान रहेछ, बेयरपिट भनिने यो ठाउँ सन १४८० देखि सरकारी खर्चमा जङ्गली भालुको बसोवासको व्यवस्था गरिंदै आएको रहेछ। अर्को छेउ सरकारी कार्यालय र रेल स्टेशन रहेछ। बीचमा सहर, बाटाहररू र मनग्गे पार्कहरू, पानीका फोहोराहरुले सहरलाई थप मनोहर र आकर्षक बनाएका रहेछन् । किनमेल, घुमघाम र खानपीनमा हामीले
एकदिन यो सहरमा बितायौं।
बर्नपछि हामी जेनेभा आयौं, लगभग डेढ घण्टाको रेलयात्रा रहेछ। लेक जेनेभाको दुई तिर अवस्थित स्विट्जरल्याण्डको दक्षिणी छेउमा रहेको सहर। धेरै अन्तर्राष्ट्रिय संस्थाहरूको हेडक्वार्टर, युएनको जन्मथलो, बच्चै देखि समाचारहरूमा सुनिरहने र स्कुलमा हाजिरजवाफ प्रतियोगिता हरूमा भाग लिंदा कुनै न कुनै प्रश्नको उत्तर हुने गरेको जेनेभाको मेरो मनमा बेग्लै छाप थियो। तर यो सहर एकदमै बिजनेस लाइक र बोरिङ लाग्यो मलाइ। यहाँको बसाईं दु दिन मै टुङ्यायौं ।
यसरी हाम्रो छ दिने स्विट्जरल्याण्ड बसाईं सकियो। यहाँको मान्छेहरूको मन चिटिक्क र संगठित रहेछ। जब मन चिटिक्क हुन्छ घर, परिवार, गाउँ शहर र देशै चिटिक्क हुँदो रहेछ झै लाग्यो। हामिले भेटे जति मान्छेहरू इमान्दार, सहयोगि र प्रोफेशनल पायौं। स्विजरल्याण्ड वातावरण मैत्री देश रहेछ। प्लास्टिकका झोला र बोतल देखिएनन। बस, रेलमा र हवाइ जहाजमा हिंडने सबैजनाले आआफ्नो रियुजेबल बोतलमा पानि लिएर हिंडदा रहेछन। यहाँको सेवाप्रवाह पनि चुस्त र दुरुस्त लाग्यो। एउटा मात्र कमी लागेको भनेको यहाँको अंग्रेजी भाषाको लोकप्रियता हो, यति धेरै अन्तर्राष्ट्रिय एक्सपोजर भएको युरेपियन देशको अंग्रेजी भाषा अति कमजोर रहेछ, राम्रो वा नराम्रो को कुरा होइन मेरो मान्यतासँग नमिलेको मात्र।
त्यसपछि हामी फ्रान्सको राजधानी पेरिसतर्फ लाग्यौं। जेनेभाबाट पेरिस फास्ट ट्रेनमा लगभग साढे तीनघण्टाको बाटो रहेछ। फ्रान्स लामो इतिहास र संस्कृति भएको देश, भोल्टेयर, डेकार्ट र सार्त्रको देश, आइफेल टावर, मोनालिसा जस्ता असंख्य सांस्कृतिक धरोहरहरू भएको देश। पुगेको साँझ सहरको रमझम हेरियो। भेलिपल्ट बिहानै हामी लुभ म्युजियम हेर्न गयौं। कला र संस्कृतिको खानी, मोनालिसाको वासस्थान। चारघण्टाको म्युजियम अवलोकन र मोनालिसा दर्शनपश्चात हामी आइफल टावरतर्फ लाग्यौं । डुंगा र बस चढेर पनि सहर हेरियो। पेरिसको सुप्रसिध्द र पुरानो किताब पसल सेक्सपेयर एण्ड कम्पनिमा काफ्का, नेरुदा र सार्त्रका केहि किताब किनियो, पेरिसको चीनोको रुपमा किताबमा सेक्सपेयर एण्ड कम्पनिको पुरानो छाप हानेर दिने चलन रहेछ। नोट्रेड्याम, Palace of Versailles जस्ता ऐतिहासिक र सांस्कृतिक महत्वका धरोहरहरू आदि हेरेर यहाँको छोटो बसाईं टुङ्यायौं । हाम्रो जम्मा तीन दिनको बसाईंमा पुरै पेरिस हेर्न सकिने कुरै भएन।पांच छ सय बर्ष पुराना भब्य महलहरू, पुल र बाटाहरू फ्रेन्च वा युरोपियन मात्र नभएर सम्पुर्ण मानव जाति र सभ्यता कै प्रतिनिधि हुन। मिल्यो भने अर्को पटक फेरि भेटौला भन्ने सोच्दै पेरिसलाई बाइबाइ गरियो।
संसारमा श्रोत र साधनहरू यति धेरै छन, सबै समयका सबै शहरहरूलाइ पेरिस वा त्यो भन्दा सुन्दर बनाउन सकिन्छ तर मान्छेहरुका स्वार्थहरू बाझिए पछि सम्भव कुरा पनि असम्भव भै दिदो रहेछ।
हरेक यात्रा को अन्त तिर थकाइ लाग्छ, कहिले घर पुगौ जस्तो लाग्छ तर यस्पालि त्यो भएन, सम्भव भए अझ बसौं झै लाग्यो तर त्यसो गर्न यस्पालि सकिएन।