घाटमान्डू पढेर


केही वर्षअघि डालासमा नेपाली नाटक मञ्चन गर्ने क्रममा सुनिल पोखरेलजी , नीशा शर्माजी र निशांशसँग एक हप्ता लामो सत्संग गर्ने मौका जुटेको थियो । पहिलो सॉझ केही कविताको वाचन पनि भएको थियो । त्यस अवसरमा सुनिलजीले घाटमान्डूबाट एउटा कविता पढ्नु भयो, ‘औंलाहरू’, एकदम क्याप्टिभेटिङ । उसो त सुनिलजीले त्यो सॉझ मेरो कविता ‘याद’ पनि पढ्नु भएको थियो, मलाई मैले लेखेको यो कविताभन्दा उहॉले गरेको वाचन मन पर्छ । त्यसपछिका दुई दिन उहॉले घाटमान्डू पढेर बिताउनुभो । उक्त किताब पढी सकेपछि उहॉले मेरा निम्ति छोडेर जाने आशय व्यक्त गर्नुभो । त्यसमा नगरकोटीले सुनिलजीलाई पर्सनलाइज गरेर लेखेको आत्मीय म्यासेज पढेर मलाई त्यो किताब सुनिलजी सँगै रहँदा उचित हुन्छ भन्ने लाग्यो, तर उहाँले अरु थुप्रै किताब छोडेर जानुभो ।

त्यो सॉझ ‘औंलाहरू’ सुनेदेखि नै मलाई घाटमान्डू पढ्ने हुटहुटी जागेको हो । त्यसको ४÷५ महिनापछि नेपाल जॉदा नबिर्सिकन लिएर आएँ, तर किन किन पढ्ने त्यो हुटहुटी भने बॉकी रहेन । अरुअरु किताबतिर ज्यादा ध्यान गयो । कुनै किताब पढ्न सुरु गर्नुअघि मलाई डर लाग्छ कतै ममा यो सिध्याउने धैर्यता हुन्न कि ? त्यसैले म किताब सुरु गर्दा निकै सावधानी अपनाउँछु । किताब बीचमै छोड्न परेका घटना धेरै छन्, हरेकपटक आफू असफल भएको अनुभूति हुन्छ ।

हालसालै आकस्मिक कामले छोटो समयको नोटिसमा यात्रा गर्नुपर्ने भयो । हतारमा कुनै आग्रहबिना एउटा किताब टिप्दा हातमा घाटमान्डू परेछ । एयरपोर्ट र एरोप्लेन गरी दुईचोटिको डीसी यात्रामा किताब सकियो ।

कलम लम्पट (उनकै भाषा चोरेको’ नगरकोटीले सॉच्चीकै मेरो एघार घण्टाको आयु चोरे । मैले पढेर हुर्केका सबैजसो किताबको एन्थोलोजी नै रहेछ घाटमान्डू, अनि मलाई भेट्न लोभ लाग्ने देश विदेशका लगभग सबैजसो लेखक दार्शनिकहरूबारे चर्चा गरेका रहेछन्, खलिल जिब्रानचाहिँ छुटाएछन् । ममदीबारे चाहिँ अति नै गिदी (उनकै भाषामा’) गरेका रैछन् । कहिलेकाहीँ मन परेका लेखकका आग्रहहरू झेल्न पनि ठूलै धैर्यता चाहिन्छ भन्ने लाग्यो, धन्न त्यो टेस्ट पास गरेँ । अझ इन्ट्रेस्टिङ त विजयकुमारको खुसीबारे उनको धारणा मसँग मिल्दो रैछ । नगरकोटीले मोटिभेसनल र बायोग्राफीबाट टाढै बस्छु भनेको चाहिँ मेरै मुखबाट शब्द खोसेझैं लाग्यो । खुसी र सोच चार÷चार चोटीको प्रयासमा पनि पूरै सक्न नसकेको अनुभव छ मसँग । उनले चर्चा गरेको लेखकको टाइप ‘बिरह शिरोमणि’ ले मलाई धाराबासीको सम्झना गराइरह्यो ।

नगरकोटीले घाटमान्डूमा विचारोत्तेजक झिल्काहरूको गोदामै जम्मा पारेका रहेछन्, झिल्काहरूको सिनर्जी र सिन्थेसिस भने जोगाइराखेछन्, फेरि कतै अर्कै निहुमा पस्किने होलान् ।

पाठकलाई बायोग्राफी पढ्न गाह्रो हुन्छ भनेरै हो कि नगरकोटीले घाटमान्डूमा फिक्सन, करेन्ट अफेयर्स र बायोको फ्युजन गरेका रहेछन् । बाठा मुन्छे, कुशल बार टेण्डरले सॉझको उत्तम ड्रिंक कक्टेल बनाएजस्तो लेयर बाई लेयर स्वाद र टेस्टअनुसारका नोट्सहरूसहित सोफिस्टिकेटेड ड्रिंक तयार गरेछन् ।

एउटा कुरा के भने, यु क्यान फिल द प्रेजेन्स अफ डेथ थ्रो आउट द बुक । डेथ र घाटबारे यति धेरै पढेर पनि एक रत्ति बैराग उत्पन्न नभएको यो पहिलो ग्रन्थ हो मेरो अनुभवमा । नगरकोटीमा तान्त्रिक टाइपको मिस्टिसिज्म पनि रैछ क्यारे । र, अर्को कुरा घाटमान्डू नेपाली परिवेशमा नयॉ प्रयोग डेफिनेट्ली यस, शास्त्रीयता डेफिनेट्ली नट ।

सुनिलजीले यो चाहिँ पढ्न नछुटाउनु होला है भनेर ‘फोसिल’ छोडेर जानुभएको छ, अब चाहिँ त्यो पढ्ने लोभ र जॉगर पलाएको छ ।

र, घाटमान्डूको पुछारमा केही थान पोयट्रीहरू छन्, प्रिसियस, यस्ता कविता युनिभर्सको कुनै कुनामा खोजेर पाइने छैनन् । कस्मिक शंखनाद घन्काउने, सोल स्याटिस्फाइङं पोयट्री ।

घाटमान्डू पढिसकेको सॉझ लक्ष्मीपूजा पनि परेछ । १२ एमएल लेफ्रायग खन्याएँ, बुक सेल्फ नेर पुगेर शिरिषको फूल, सुम्निमा, ब्रिफ हिस्ट्री अफ टाइम, बिइङ एन्ड नथिङ नेस, फ्युचर सक, द गड अफ स्मल थिंग्स, मोदी आइन्, प्लेग, एज अफ रिजन, चॉदका मुंह टेढा है, सिद्धार्थ, द प्रोफेट, खलिल जिब्रान आदिहरूलाई मुसार्दै घोत्ली रहँे आनन्द आइरह्यो निकै बेर ।

Submit comment

Allowed HTML tags: <a href="http://google.com">google</a> <strong>bold</strong> <em>emphasized</em> <code>code</code> <blockquote>
quote
</blockquote>