हाम्रो पाला एसएलसी रिजल्ट हेर्न गाँउबाट डेढ घण्टा हिंडेर स्याङ्जा बजारसम्म जानुपथ्र्यो र स्याङ्जासम्म गोर्खा पत्र आइपुग्न निकै समय लाग्थ्यो ।
रिजल्ट भएको दिन बुवाले ‘जा नुन र मट्टितेल पनि लिएर आइज् रिजल्ट पनि हेरेर आइज’ भन्नुभयो । उत्साहित र भयभित हुँदै बिहान साढे दस बजेतिर स्याङ्जा पुगियो । त्यहाँ रिजल्ट भएको खबर र रिजल्ट हेर्न ब्यग्र मजस्ता मान्छेहरूबाहेक अरु कोही आइपुगेकै थिएन । पोखरा जान पनि ठूलै कुरा हुन्थ्यो, त्यतिबेला । समयमा बस नपाइने र साँझ घर फर्किन नसकिने, त्यसैले गइएन ।
दिउँसो २ बजेतिर आबा बाट पनि सोध्न मिल्छ रे भन्ने हल्ला सुनेर आबा कार्यालय पुगेँ । अलि अलि चिनेका मान्छे रहेछन् त्यो कार्यालयमा । आफूलाई भन्न अप्ठेरो लाग्नी, कस्सो उनैले रिजल्ट छ र ? भनेर सोधे । मैले हो भनेपछि उनले नम्बर मागे मैले 59284D भनेँ, अहिलेसम्म याद छ त्यो नम्बर ।
आ बा पठाउने र आउने निश्चित टाइम हुँदो रैछ, ४स्३० बजेतिर बाहिर निस्केर उनले साह्रै हल्कापाराले पास भएछौ भने । मलाई पत्यार लागेन, सान्त्वना दिनेखालको थियो उनको स्वर । शहरमा गोरखापत्र अझै आइपुगेको थिएन । बर्खाको बेला खोला बढेका छन् । बाटो चिप्लो छ । पानी पर्न थाल्यो, जाउँ कि बसम् भो । त्यति बेलासम्म रिजल्ट हेर्नेहरूको भीड कम भइसकेको थियो । टाढाबाट आएका फर्किसकेका थिए । छ बजे अँध्यारो भयो । पानी प¥यो र सीडीयो अफिसमा गोरखापत्र पनि आइपुग्यो । सारा जिल्ला त्यहीँ पुग्यो एकैपटक ।
म बबुरोको पालो आउँदा त आठ बजिसकेछ, थाहै नपाई । आफ्नै आँखाले आफ्नो नम्बर गोरखापत्रमा हेरेर चोर औंलाले मुसारेर त्यहाँबाट निस्केपछि बल्ल मैले रकस्याक झोला पनि बोकेको छु, खल्तीमा पैसा पनि छ, बाले नुन तेल ल्याउनु भन्नु भाछ भन्नी सम्झेँ । भोक पनि बेतोडको लाग्यो । तर बजार त बन्द भइसक्यो, केही नलिई घर जाँदा गाली खाइने ।
डर मान्दै मान्दै यामनारान साहुको पसलअगाडि पुगेँ । बुवाले उनकै पसलबाट ल्याउनु नुन तेल भन्नुभाथ्यो । पसलको एउटा सानो ढोकामात्र खोलेर मधुरो बत्तीमा हिसाब गर्दै रैछन् साहु । मैले सबै बेलिबिस्तार लाएपछि किन ढिला गरेको ? घर जान सक्छौ अहिले भनेर सोधे । मैले सक्छु तर राति भएकोले थोरैमात्रै लान्छु भनेँ । एक पाथी नुन र पाँच लिटरको जर्किनभरि मट्टितेल हालेर कागजको सानो थैलीमा (के भन्थे त्यसको नाम बिर्से, कापीका पानालाई मोडेर गमले चिप्काएर सामान हाल्ने बनाउँथे उतिबेला, प्लास्टिकका झोला थिएनन्) च्युरा र चिनी मिसाएर हातमा लिएर बाटो लागेँ, च्युरा खाँदै ।
पछाडि झोलामा नुन र जर्किन थियो । अँध्यारोमा लड्दै–वर्दै हिंडियो पास भएकोले मन उज्यालो छँदै थियो । अबचाहिँ घरकालाई रिजल्ट सुनाउनी हतार लग्यो ।
घर के पुगेको थिएँ, रिजल्ट सुनाउन नपाउँदै बुवाले साफै गाली गर्नु भो ढिला आएको भनेर । भाइ बहिनी र बुवाआमा सब टेन्सनमा मलाई कुरिरहेका रैछन् । कुरो के रैछ भने साँझ परेपछि आमा बुवाको भरमार झगडा भएछ । आमालाई म फेल भएँ र घर नआई अन्तै हिडेँ, बुवाले मलाई एक्लै पठाउन नहुनी भन्ने लागेछ ।
जे होस आमाले रुँदै वर्दै पास त भैस नि ? भनेर सोध्नु भो, मैले अँ भनेँ र झोला उतारेँ, बल्ल पो ह्वास्स मट्टितेल गनायो ।
मट्टितेल त नुनमा पोखिएछ । मेरो पिठ्यूको पूरै छाला गएछ । भोलिपल्ट पिठ्यूभरि पोलेकोजस्तो पानी फोकाहरू आएर निको हुन तीन हप्ताजति लागेको सम्झना छ । र, भोलिपल्ट बहिनीले त्यो नुन काम लाग्छ कि भनेर पानीले धोएको, चाल्नामा हालेर सुकाएको पनि सम्झना छ । त्यो नुन खान भयो कि भएन त्योचाहिँ बिर्सेँ ।
उतिबेला मेरो क्लासका २९ जनामध्ये ४ जना पास भएका थियौँ । अहिले एकजना वाणिज्य बैंकमा, एकजना राजनीतिमा र एकजना वैदेशिक रोजगारीबाट रिटायर भएर नेपालमै हुनुहुन्छ, र मचाहिँ यता छु ।