उपल्लो थलो पढेर


वर्षका अन्तिम साढे दुई महिना कामको चाप अलि कम हुने हुनाले वर्षभरी पढ्ने रहर पालेका किताबहरूमध्ये केही पढने मौका पाउँछु । पढेका सबैको प्रतिक्रिया भने लेखिन्न । उपल्लो थलो पढ्ने सिफारिसचाहिँ मेरी बहिनी गुड्डीले गरेकी हुन् । त्यतिबेला यो पुस्तक भर्खर निस्केको थियो होला, अहिले मैले पढेको कपीचाहिँ दोस्रो संस्करणको परेछ । लेखक मोहन मैनालीले सुरुमै भनेका छन्, उनको यो पुस्तक ठिमाहा विधा (पत्रकारिता र साहित्यको मिश्रण) मा पर्छ । यदि यो ठिमाहा विधा हो भने मैनाली यो विधाका धारिला शिल्पी रहेछन् ।


मैनालीले गोरखाको उत्तरी भेगको सामाजिक, आर्थिक, वातावरणीय, राजनीतिक, सांस्कृतिक परिवेशको सांगोपांगो माइक्रो र म्याक्रो लेबलको विश्लेषण गरेका छन् । पुस्तकको अन्त्यमा मानसरोवर र कैलाशको यात्रा संस्मरण पनि राखेका छन् ।


हिमाली भेकबारे नेपाली साहित्यमा कमै लेखिन्छ, यो क्षेत्र उपेक्षित हुनुको कारण यहाँको विकट जनजीवनको सूचना मूलधारका नेपालीलाई नहुनु पनि हो । यो पुस्तकले केही हदसम्म त्यो घाटा पूर्ति गरेको छ । फिक्सन विधामा सल्ली पीरले पनि सुन्दर रुपले हिमाली जनजीवनको चित्रण गरेको हो मेरो विचारमा ।


यात्रा संस्मरण पढ्दा ठाउँको वर्णन, घटना र तथ्यांक सर्रर बढ्नु एउटा कुरा हो, त्यसको सांगोपांगो विश्लेषण र सारा पृष्ठभूमि केलाइएको स्वाद पनि लिन पाउनु विल्कुल बेग्लै हुँदोरहेछ । मैले यस्ता संस्मरणहरू पढेको छैन ।


बडो धैर्यपूर्वक हरेक सिनलाई न्याय गरेर उनले यो पुस्तक तयार पारेछन् । कुनै ठाउँमा दोहोरो भ्रमण भयो भने त्यसको समेत रिफरेन्स र तुलना गरेर बिहान, बेलुका ऋतु आदिको समेत फरक छुट्याएर व्यापक वर्णन प्रस्तुत गरेका रैछन् । पढदा पनि अनुभव हुन्छ उनले कति टिपोट लिए होलान्, कति पुनर्लेखन गरे होलान् भनेर । त्यति धेरै सूचनालाई रोचक रुपले संगठित गरेर मालाजस्तै उनेर पेस गरेका छन् मैनालीले ।


लार्के भञ्ज्याङमा क्यामरा म्यान ध्रुव बिरामी हुँदा मैनाली र ध्रुव दुईजना मात्र खतरनाक मौसम, कठिन भौगोलिक परिस्थितिमा घेरिएको र ज्यानै जान सक्ने अवस्थालाई थ्रिल एलिमेन्टको रुपमा पस्केका रहेछन् मैनालीले । यो घटना पढिरहँदा मुटुको वेग पनि बढिरहन्छ, उनीहरूको उद्धार समयमै हुन सक्ने हो कि होइन भनेर ।


लेखकीय इमान्दारी त छ नै, एकाध ठाउँमा उनले आफ्नो व्यक्तिगत चारित्रिक स्ट्रेन्थको झलक पनि दिएका छन् । पेशागत इमान्दारी र व्यक्तिगत तवरले असल मान्छे रहेछन् भन्ने बलियो आधार पनि पाइन्छ । चरित्रको दह्रो मान्छेद्वारा सिर्जित कृति पढिरहेको छु भन्ने आभाष पाठकलाई दिन सक्नु लेखकको लागि ठूलो पुँजी हो । लेखक डेफिनिटिभ्ली अथेन्टिक रुपमा प्रस्तुत भएका छन् ।
पुस्तक पढिसक्दा मैनालीले एउटा पत्रकारले पत्रकारको पेशा धर्म निर्वाह गर्ने क्रममा सम्पादकीय मूल्यभित्र नपर्ने र रिपोर्टिंङमा नपरेका मानवीय संवेदना र आग्रहहरूलाई पुस्तकको रुपमा प्रस्तुत गरेका होलान् भन्ने मेरो मान्यता रह्यो ।


नयाँ गाउँखाने कथा पनि अन्वेषण गरेछन् (बीउ उही, मल उही, बारी उही, काम गर्ने तरिका पनि उही तर बाली दोब्बर) कसरी ? जाँड–रक्सीमा कटौती गरेर । रमाइलो लाग्ने तर साँच्चिकै गाउँलेहरूको सफलतालाई यो कथनले प्रतिनिधित्व गरेको छ । यस्तै ससाना सफलताहरूमा गाउँले परिवेश झ्यांगिँदै अगाडि बढ्छ । बूढीगण्डकी जस्तै सललल बगेको छ, मैनालीको कलम, र कुनै कुनै ठाउँमा बाढी र हुण्डरी पनि ल्याउँदो रैछ गण्डकीले झैं ।


एकदम माझिएको शिल्पीको छनक आउँछ । उनको गाउँले जनजीवन अवलोकन गर्ने सीप पनि सूक्ष्म तर तीक्ष्ण रैछ । गाउँले जीवनको कष्ट र सरकारी सेवाको विसंगति, वातावरणीय ह्रासप्रतिको चासो बिछट्टै सुन्दर तरिकाले पस्किएको छ ।

म गाउँमै हुर्के बढेको हुँ, उनले भ्रमण गरेका गाउँजस्तो विकट मेरो गाउँ नभए पनि उनको विषय वस्तुसँग जोडिन मलाई गाह्रो भएन । म लगभग १५ वर्षको हुँदो हुँ एकजना गाउँका अग्रज र म खरबारीको पँधेरोमा गएको पहिरो मर्मत गरिरहेका थियौं । हिउँदको बेला थियो, साँझपखको घामले पारिको वन सुन्दर देखिएको थियो । मैले पारि हेरेर ‘वन कति राम्रो देखिएको हगि’ भन्दा उनले ‘हो बाबु पेट टन्न भरिएको र आङभरि कपडा छन् भने वन राम्रो देखिन्छ’ भन्ने उत्तर दिए ।
मलाई त्यतिखेर लाज लाग्यो तर आज चार दशकपछि पनि मेरो मनमा त्यो कुराकानीको नयाँ नयाँ अर्थ खुलिरहन्छ । शंकरे दाइ उनताकै बितेका हुन् । म उनलाइ सम्झिरहन्छु यो र अरु थुप्रै कुराकानी र सहकार्यमार्फत । गाउँले जीवन बाहिरबाट हेर्दा ग्ल्यामरस लाग्न सक्छ तर भित्र दुःख–कष्टका पहाड छन् । मैनालीले हिमाली जीवनको यो पाटोलाई सहज तरिकाले सतहमा ल्याएका छन् ।
फिक्सन भएको भए एक च्याप्टरबाट अर्को च्याप्टरमा फड्को मार्न वा अघिल्लो सन्दर्भ जोड्न सजिलो हुन्छ । यो पुस्तक मैनालीले छोटाछोटा च्याप्टरमा बाँडेका छन् । कुनै कुनै च्याप्टरमा भने त्यो कथा पहिलाको सन्दर्भमा कहाँ जोडिन्छ भनेर खोज्न गाह्रो हुनेगरी राखेका रहेछन् ।
जे होस् उपल्लो थलो पढ्दा शास्त्रीय क्रिकेटप्रेमीलाई फाइब डे क्रिकेट म्याच हेर्दा मजा आएजस्तो हुँदो रहेछ ।
ओभर अल एक्सिलेन्ट स्टोरी टेलिङ ।

Submit comment

Allowed HTML tags: <a href="http://google.com">google</a> <strong>bold</strong> <em>emphasized</em> <code>code</code> <blockquote>
quote
</blockquote>