इतिहास, कथा र समाचार

भोक चपाएर
पेट भरेका,
चिसो सिरेटोको
सिरक ओढेर
कठ्यांग्रीने जाडो टारेका,
साहुको अन्यायमा परेर
थात थलो छाडि
घर गोठ सारेका,

बिरामि हुंदा
रोगैको क्यापसुल
घुटुक्क निलेर मरेकाहरुको
के कथा?
के इतिहास?
र के सामाचार हुन्छ?

इतिहास उनको
लेखिएको छ
जो निमुखाहरुको
जीउ, धन र सपनामा टेकेर
सत्तामा पुगे
र पुगे पछि बिर्से
उनिहरु त्याहा
किन पुगेका हुन
र कसरी पुगेका हुन

कथा उनको
प्रख्यात भएको छ
जो टन्न पेट भरेर
सुविधाले, फुर्सदमा
सीतन र सामल बोकेर
गर्ल फ्रेण्ड भेटन गए
र झगडा गरेर फर्किए

अनि समाचार
ती बहादुरहरुको बुलन्द भयो
जस्ले बेसहाराहरुको
ज्युदो ज्यान पोलेर
राजनिति का इट्टा सेके

समाचार त
देश र इतिहास किनबेच गर्ने
जनताको पसिनामा
पौडि खेलेर
करोडौको बार्गेनिंग
गर्नेहरुको पनि बुलन्द भयो

समाचार यो पनि आयो
गरीबहरुले जम्मा हुने र
सामान किनबेच
गर्ने ठाॅउ ले
शहर कुरुप भयो

थप समाचार यो पनि छ
सुन्दरता को
चेत भएका “देशप्रेमि” हरुले
सामान किन्न र बेच्न जम्माभएका
नांगो आंग, खालि पेट
र रोगले विदीर्ण जीउ लिएर
बाटो हिंडि रहेका “अपराधिहरु” लाइ
सडकबाट हटाएर
शहर सुन्दर बनाए

Submit comment

Allowed HTML tags: <a href="http://google.com">google</a> <strong>bold</strong> <em>emphasized</em> <code>code</code> <blockquote>
quote
</blockquote>